काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आफूले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउनेगरी काम गरिरहेको बताएका छन् ।
परिवर्तन अभियान नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले आफूले नीतिगत सुधारको काम गरिरहेको बताउँदै अहिले तत्काल देखिने गरी काम गर्न नसकेको जस्तो देखिए पनि भावि दिनमा राम्रो गर्नेगरी काम गरिरहेको बताए ।
‘हामीले स्वास्थ्यका क्षेत्रमा केही नीतिगत सुधारका कामहरु अगाडि बढाएका छौँ । यो पूर्ण छैन । यसलाई पूर्णता दिने कुरा एक वर्षजस्तो, केही महिनाजस्तो लाग्छ,’ उनले भने ।
त्यस्तै आफूहरुले केही काम गरिरहेको र त्यसको प्रक्रिया पूरा गर्न केही वर्ष लागे पनि त्यसले आम नागरिकलाई विस्वस्त तुल्याउनेगरी काम गरिरहेको बताए ।
‘हामीले केही थालना गरेका छौँ । त्यो प्रक्रिया पूरा हुँदा नेपालको स्वास्थ्य क्षेत्रमा सुधार भएको अनुभुती आम नागरिकले गर्ने स्थिति बन्छ । मैले यहीँभित्र पनि सुधार सम्भव छ भनेर देखाउँन खोजिरहेको छु,’ उनले भने ।

आफूलाई पार्टीले जिम्मेवारी दिएको र आफ्नो कामले पार्टीलाई लोकप्रीय बनाउनेगरी काम गरिरहेको समेत विश्वास व्यक्त गरे ।
त्यस्तै पछिल्लो समय नेपालमा केही हुँदैन भनेर विदेश जानेहरुको संख्या बढिरहेको तर आफूहरुले युवामा आशा जगाउनेगरी काम गरिरहेको समेत दाबी गरे ।
मन्त्री पौडेलले परिवर्तन अभियान नेपालले नेपालको परिवर्तनमा भूमिका खेलिरहेको भन्दै प्रशंसा गरे ।
त्यस्तै उक्त कार्यक्रममा बोल्दै अभियानका अध्यक्ष समेत रहेका नेपाली कांग्रेसका युवा नेता सुशिल भट्टले नयाँ पुस्तालाई राजनीतिमा जोड्नु आवश्यक रहेको बताए । साथै अहिले पनि राजनीतिलाई फोहोरी खेलको रुपमा मात्रै बुझ्ने गरेकामा आफूहरुले त्यसलाई सुधार गरेर अघि बढ्नेमा जोड दिए ।

त्यस्तै आफूहरुले कुरा काटेर भन्दा काम गर्नका लागि लागिपरेको बताए ।
‘हामी र हाम्रो पुस्ता अब कुरा काटेर होइन कि थोरै भए पनि हाम्रो समय सकारात्मक काममा लागौँ भनेर प्रयास गरिरहेका छौँ,’ उनले भने ।
उक्त कार्यक्रममा बोल्दै साहित्यकार डा. नवराज लम्सालले पछिल्लो पुस्तालाई धैर्यता गर्न आग्रह गरे । साथै अघिल्लो पुस्ताले राजनीतिमा ठूलो परिवर्तन ल्याए पनि अहिलेको पुस्तालाई आश्वस्त पार्न नसकिरहेको भन्दै अब देशको नेतृत्व युवाहरुको हातमा जानुपर्नेमा जोड दिए ।
‘अहिलेको पुस्ता फास्ट मुभिङ खोजिरहेको छ । फास्ट मुभिङ नखोज्नुस् । एउटा आमाले बच्चा पाउन ९ महिना लाग्छ । एउटा मकै, एउटा कोदो फल्न ३ महिना लाग्छ । तपाईँ केरा जीन्दगी बाँच्ने कि कटुस जीन्दगी बाच्ने तपाईँकै हातमा छ । केरा यही वर्ष फल्छ । छोडाउन सजिलो हुन्छ, खान मिठो हुन्छ । तर कटुस फल्न १० वर्ष लाग्छ । झुस फाल्न कठिन हुन्छ तर अर्को १०० वर्ष बाच्छ,’ उनले भने ।

त्यस्तै उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका युवा नेता सविन तामाङले पछिल्लो पुस्ताहरुमा नयाँ आशा जगाउने काम गर्नुपर्नेमा जोड दिए । साथै पछिल्लो पुस्तालाई आशा लिएर बाच्न र देशमै केही गर्ने प्रण गर्न आग्रह गरे ।
परिवर्तन अभियान नेपालले आफ्नो दोस्रो वार्षिकोत्सवका अवसरमा खीर खाने कार्यक्रमसहित शुभकामना आदानप्रदानको कार्यक्रम गरेको हो । आफ्नो दोस्रो वर्षमा प्रवेश गर्दा परिवर्तन अभियान नेपालले विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको छ ।
त्यस्तै परिवर्तन अभियान नेपालले विभिन्न क्षेत्रमा राम्रो काम गरिरहेका व्यक्ति तथा संस्थालाई सम्मान समेत गरेको थियो ।
जसमा नागार्जुन नगरपालिकामा रहेको बालबिकास माध्यामिक विद्यालय, सांस्कृतिक अभियन्ता ई.सोजन प्रजापति, गायक शिव हमाल, साहित्यकार शशी थापा पण्डित, वरिष्ठ साहित्यकार, संगीतकार एवं सञ्चारकर्मी डा. नवराज लम्साल, पर्यटन व्यवसायी रामप्रसाद सापकोटासहित सामाजिक संस्था बन्दी सहायता नियोगलाई समेत सम्मान गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया