प्रदेशमा घेराबन्दीपछि काठमाडौं आए मुख्यमन्त्री लामा, देउवाको बोलावट कुर्दै

लोकपथ
3.4k
Shares
फाइल तस्बिर

काठमाडौं । पार्टीभित्रै आन्तरिक विवाद चर्किँदा संसदीय दलको नेताबाटै हट्न परेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा बिहीबार काठमाडौं आएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवासँग भेट्नका लागि लामा काठमाडौं आएका हुन् ।

बुधबार भएको बागमती प्रदेश नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा लामा पराजित भएका थिए । कांग्रेस बागमती प्रदेशका सभापति समेत रहेका इन्द्रबहादुर बानियाँले लामालाई दलको नेतामा पराजित गरेका हुन् ।

०७९ साल पुस १३ गते लामाले उनै बानियाँलाई हराएर संसदीय दलको नेता बनेका थिए । गत वर्ष ०८१ साल साउन ८ गते मुख्यमन्त्री बनेका लामामाथि संसदीय दलमा अविश्वास पैदा गरेर बानियाँले दलको नेताबाट हटाएका थिए । यद्यपि लामा भने आफूले संविधान मान्ने भन्दै मुख्यमन्त्रीबाट राजीनामा नदिने पक्षमा छन् ।

लामा र बानियाँ दुवै संस्थापन समूहका रहे पनि एकले अर्कोलाई निषेध गरेर अघि बढ्दा बागमतीमा तरंग पैदा भएको छ ।

यसअघिको संसदीय दलको निर्वाचनमा सभापति देउवाको भित्री सहयोग लामालाई थियो । तर अहिले देउवाले पुनः बानियाँलाई सहयोग गर्दा बागमतीको परिस्थिति फरक बन्न पुगेको हो ।

लामा काठमाडौं आएर सभापति शेरबहादुर देउवासामु पछिल्ला घटनाक्रबारे ‘ब्रिफिङ’ गर्ने तयारीमा छन् । तर सभापति देउवाको बेस्तताका कारण उनले भेट्ने समय पर्खिरहेको लामाका स्वकीय सचिव राजेन्द्र फुयाँलले लोकपथलाई जानकारी दिए । सभापति देउवाको बोलावट कुरेको र उताबाट भेट्ने चाँजोपाँजो मिलेपछि बागमतीमा भइरहेको राजनीतिक खेलबारे लामाले देउवालाई ब्रिफिङ गर्ने उनले बताए ।

‘बागमती प्रदेशमा जुन किसिमको राजनीतिक खेल भयो त्यसले पार्टीलाई भोलिका दिनमा थप क्षति पुर्याउने देखिन्छ,’ फुयाँलले भने, ‘मुख्यमन्त्रीज्यूले सभापतिलाई भेटेर त्यसबारे जानकारी गराउनुहुने तयारी छ । अहिलेसम्म सभापतिबाट बोलावट आएको छैन । उहाँले बोलाएपछि त्यसबारे छलफल हुनेछ ।’

गठबन्धनले अप्ठेरो पार्दा रोकियो ३ मन्त्रीको शपथ

त्यसो त मुख्यमन्त्री लामाले नियुक्त गरेका तीन मन्त्रीको शपथसमेत रोकिएको छ । मुख्यमन्त्री लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई बुधमार मन्त्री नियुक्त गरेका थिए । लम्साललाई कानुनमन्त्री नियुक्त गरे पनि अन्य दुई मन्त्रीको जिम्मेवारी तोकिन बाँकी रहेको छ ।

तीनै जना मन्त्रीको शपथ आजका लागि तोकिएको थियो । तर अन्तिम अवस्थामा प्रदेश प्रमुख बिरामी परेको भन्दै शपथ हुन सकेन । उता बागमतीको किचलोका कारण गठबन्धनमा सामेल दल नेकपा एमालेले कांग्रेसको आधिकारिक निर्णयपछि मात्रै शपथग्रहण गराउन आग्रह गरेको थियो । जसकारण आजका लागि शपथ रोकिन पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?