माओवादी केन्द्रले स्थायी कमिटी बैठकको एजेन्डा तय गर्‍यो

लोकपथ
378
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठकका लागि एजेन्डा तय गरेको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले साउन १६ गते शुक्रबारबाट सुरु हुने स्थायी कमिटी बैठकका एजेन्डा तय गरेको हो ।

पार्टी प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा पार्टी मुख्यालयको तर्फबाट वर्तमान राजनीतिक परिस्थितिबारे स्थायी कमिटी सदस्यहरूलाई ब्रिफिङ गरिनेछ । साथै, पोखरामा आएर रोकिएको पार्टीको अभियानलाई पुनः निरन्तरता दिने विषयमा पनि गम्भीर छलफल हुने उनले जानकारी दिए ।

‘सबैभन्दा पहिला पर्सि बस्ने स्थायी कमिटी बैठकमा पार्टी मुख्यालयले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नेछ,‘ सापकोटाले भने, ‘त्यसपछि रोकिएको अभियानलाई निरन्तरता दिने, केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने र समाजवादी मोर्चासम्बन्धी विषयमा पनि छलफल गरिनेछ।’

बैठकमा संगठन निर्माण, नेताहरूको कार्यविभाजन, पार्टीको आन्तरिक एकता सुदृढ बनाउने र समसामयिक प्रस्तावहरू पारित गर्ने विषय पनि समेटिएको सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?