काठमाडौं । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका-११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।
मंगलबार राति यादवमाथि अज्ञात समूहले टाउकोमा धारिलो हतियारले आक्रमण गरेका मृतकका छोरा कपिलदेव यादवले जानकारी दिए । ‘बिहान अबेरसम्म नउठेपछि खोजी गर्ने क्रममा उनलाई गम्भीर घाइते अवस्थामा फेला पारेका थियौँ’, उनले भने ।
घाइते यादवलाई लहानस्थित प्रादेशिक अस्पताल पुर्याइएको भए पनि उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
घटनापछि ढिलोगरी प्रहरी आएको भन्दै आक्रोशित स्थानीयवासीले धनगढी बजार क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गर्दै टायर बालेर विरोध जनाएका थिए । करिब एक घण्टासम्म यातायात ठप्प भएको थियो ।
डीएसपी पासवानका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना पारिवारिक विवाद वा पुरानो रिसइवीका कारण हुनसक्ने आशंका गरिएको छ। ‘हत्या सम्बन्धी अनुसन्धान तीव्र पारिएको छ, दोषी पत्ता लगाउँदै कानुनी प्रक्रिया अगाडि बढाइनेछ,’ उनले स्पष्ट पारे।
प्रहरीले घटनास्थलको मुचुल्का उठाउने, शंका लागेका व्यक्तिसँग बयान लिने लगायतका प्रक्रिया अगाडि बढाइसकेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया