रसुवा बाढी अपडेट : भन्सार यार्डदेखि सडक, पुल र सवारी साधन बगायो

लोकपथ
4.1k
Shares

काठमाडौं । असार २४ को विनाशकारी बाढीले ठुलो क्षति पु‍र्याएको रसुवामा पुनः बाढी आएको छ । चीनतर्फबाट बग्ने ल्हेन्दे र केरुङ खोलामा आएको बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–५ मा रहेका पाँच वटा टहरा बगाएको छ ।

बाढीले रसुवागढी भन्सार यार्डको धर्ककाँटासमेत बगाएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । ल्हेन्दे र केरुङ खोलाको मिसावटपछि बनेको भोटेकोशी नदीले गोसाइँकुण्ड गाउँपालिका–५ स्थित तातोपानी डाँडामा कटान गरेपछि पासाङ ल्हामु सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

बाढीले रसुवागढी हाइड्रोपावरको आवासीय क्याम्पमा असार २४ मा पुरिएका दुई वटा पिकअप गाडीलाई समेत बगाएको छ । ती गाडीहरू बा.१२ च ४ नम्बरको फोर्स रेन्जर र बा.१० च ९३४० नम्बरको फोर्स रेन्जर रहेको बताइएको छ । साथै, हाइड्रोपावरतर्फ जान प्रयोग हुने फलामे पुलसमेत बाढीले बगाएको छ ।

गोसाइँकुण्ड गाउँपालिका–२ अन्तर्गत पर्ने पासाङ ल्हामु सडक खण्डको करिब १५ मिटर सडक कटान हुँदा अहिले मोटरसाइकल बाहेक अन्य सवारी सञ्चालनमा आउन नसक्ने अवस्था रहेको छ । सो स्थानमा सडकमा रहेको एक बिजुलीको पोल पनि ढलेको छ ।

त्यस्तै, फेन्लुङ क्षेत्रमा ५ मिटर सडक खोलाले कटान गर्दा साना गाडी मात्र सञ्चालन गर्न सकिने अवस्था रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय प्रशासन र सुरक्षा निकाय उद्धार तथा क्षतिको मूल्याङ्कनमा जुटिरहेका छन् । जोखिम अझै कायमै रहेकाले सतर्क रहन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?