काठमाडौं । समाजवादी मोर्चाले हालसम्मका आफ्ना गतिविधिहरू पर्याप्त नभएको निष्कर्ष निकालेको छ ।
नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालय आलोकनगरमा मंगलबार बसेको मोर्चाको बैठकले संगठनको हालको कार्यशैली र प्रभावकारिताबारे गम्भीर समीक्षा गरेको हो ।
बैठकपछि पत्रकारहरूसँग बोल्दै मोर्चाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले मूलतः मोर्चा सफल भए पनि अपेक्षित गतिमा अघि बढ्न नसकेको स्वीकार गरे । ‘मोर्चालाई अझ प्रभावकारी र जनस्तरमा अर्थपूर्ण रूपमा डेब्लभ नगर्ने हो भने त यतिको त अर्थ छैन, ‘उनले भने, ‘बैठकमा यस्तै बहस भयो र गम्भीर समीक्षा गर्दै अघि बढ्ने निष्कर्ष निकालिएको छ ।’
बैठकमा हालको राजनीतिक परिस्थितिमा मोर्चालाई समाजवादी दिशातर्फ लैजाने विषयमा समेत छलफल भएको जनाइएको छ । मोर्चालाई फरक ढंगले विस्तार गर्ने विषयमा व्यवहारिक र तार्किक योजना आवश्यक रहेको निष्कर्ष समेत बैठकले निकालेको छ ।
उनका अनुसार, भदौ महिनाको अन्त्यतिर देशव्यापी कार्यक्रमको तयारीबारे पनि बैठकमा छलफल भएको छ । बैठकले अहिलेको परिस्थितिमा देश गम्भीर मोडमा रहेको भन्दै सही र सशक्त ढंगले अघि नबढे देश संकटमा फस्ने चेतावनी दिएको छ ।
बैठकमा विभिन्न घटक दलका नेताहरूको उपस्थितिमा मोर्चाको भावी रणनीति र क्रियाशीलता अझ प्रभावकारी बनाउने सन्दर्भमा विस्तृत छलफल भएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया