सबै दोष नेतामा थुपार्न मिल्दैन, व्यवसायीले पनि मेहनत गर्नैपर्छ : देउवा

लोकपथ
483
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै कामको दोष नेतामाथि थुपार्न नहुने भन्दै व्यवसायी र उद्योगीहरूले आफूले गर्नुपर्ने मेहनत गर्नुपर्ने बताएका छन् । 

उनले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सम्बोधन गर्दै व्यापार र उद्योग सञ्चालन सरकारको काम नभएको तर सहयोगका लागि सरकारले सदैव तयार रहेको बताए ।

देउवाले भने, ‘व्यापार गर्ने व्यापारी, उद्योग गर्ने उद्योगी हुन् । सरकारले सहयोग गर्न तत्परता देखाएको छ । सबै कुराको दोष नेताको टाउकोमा राख्न मिल्दैन। आफूले काम गर्नुपर्छ, मेहनत गर्नुपर्छ ।’ उनले नेपाली कांग्रेसको नेतृत्वमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा उदारीकरण नीति ल्याइएको र त्यसका कारण धेरै आलोचना सहनुपरेको स्मरण गराए ।

सभापतिले निजीकरणमार्फत उदारीकरणलाई अघि बढाएको भए पनि त्यसले केही गाली खेप्नुपरेको उल्लेख गर्दै, ‘हामीले केही नछोएर आलोचना भोग्नुपरेको छ । आफूले गर्न नसकेको कामको दोष सरकारले पाउन नहुने हो,‘ उनले भने ।

उनले व्यवसायमा सफलताका लागि सरकारले अवसर र वातावरण उपलब्ध गराउने भए पनि मुख्य काम व्यवसायी र उद्योगपतिले आफैँ गर्नुपर्नेमा जोड दिए ।

यसरी उनले नेतामा मात्रै दोष थोपर्ने प्रवृत्तिप्रति असन्तोष व्यक्त गर्दै सबै पक्षलाई आफ्ना जिम्मेवारी निभाउन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?