कांग्रेस बागमती संसदीय दलको नयाँ नेता चयनका लागि निर्वाचन समिति गठन

लोकपथ
868
Shares

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयन गर्नका लागि निर्वाचन समिति गठन गरिएको छ ।

मंगलबार कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको प्रदेश कार्यसम्पादन समितिको बैठकले सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा निर्वाचन समिति बनाउने निर्णय गरेको हो ।

समितिमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहनेछन् । निर्वाचन समितिले अब संसदीय दलको नयाँ नेता चयन गर्न निर्वाचन प्रक्रिया अघि बढाउनेछ ।

यसअघि मुख्यमन्त्री समेत रहेका दलका नेता बहादुरसिंह लामाविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान भएको थियो। मत विभाजनका क्रममा लामाको पक्षमा १५ मतमात्रै परेपछि उनी दलको नेताको हैसियत गुमाएका हुन् । विपक्षमा २२ मत परेको थियो ।

दलको नेतृत्वविहीन अवस्थालाई टुंग्याउन कांग्रेसले छिट्टै नयाँ नेता चयन प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?