काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले संसदीय दलको नेताको हैसियत गुमाएका छन् ।
मंगलबार भएको मत विभाजनमा ३७ सदस्यीय रहेको संसदीय दलमा उनको पक्षमा भन्दा विपक्षमा धेरै प्रदेश सभा सदस्यहरु उभिएका हुन् । उनको पक्षमा जम्मा १५ जना उभिँदा उनको विपक्षमा २२ प्रदेश सभा सदस्य उभिएका हुन् ।
संसदीय दलमा आफ्नो पक्षमा बहुमत पुर्याउन नसकेपछि लामा दलको नेताबाट हटेका हुन् ।
सुरुमा २१ सांसदको हस्ताक्षरमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । मंगलबार मन्त्री पदबाट राजीनामा दिएका श्याम खड्का समेत विपक्षमा उभिँदा संख्या २२ पुगेको हो । लामाको विपक्षमा उभिएका सांसदहरूमा इन्द्रबहादुर बानियाँ, शिवराज अधिकारी, कञ्चनचन्द्र वादे, दिपेन्द्र श्रेष्ठ, पुकार महर्जन, बिनु रायमाझी पौडेल ,यमुना देवी श्रेष्ठ, उर्मिला नेपाल केसी, शान्ता ढकाल, प्रभात तामाङ, छिरीङ्ग दोर्जे लामा, मीना पराजुली, याङ्किला शेर्पा, मीन कृष्ण महर्जन, बिमल ठकुरी, मदुकुमार श्रेष्ठ, सुरजचन्द्र लामिछाने, सुरेश श्रेष्ठ, श्रीराम लामिछाने, सुना परियार,श्यामबहादुर खड्का र कृष्णबहादुर तामाङलगायत छन्।
लामाको पक्षमा उभिनेमा लामासहित, कुन्दनराज काफ्ले, उत्तम जोशी, लक्ष्मी श्रेष्ठ, रमेशकुमार महत, हरिप्रभा खड्गी, रामकुमार पहाडी, क्षत्रबहादुर बम्जन, गिता गुरूङ, मसिना खड्का, तिर्थ लामा ,रामकृष्ण चित्रकार, माया श्रेष्ठ, गोविन्द लम्साल र समिता खड्गी जस्ता सांसदहरू छन् ।
नेपाली कांग्रेस बागमती प्रदेशको आन्तरिक कलह चुलिँदा लामालाई दलको नेताबाट हटाइएको हो । यता लामाले आफूले संसदीय दलको नेताबाट हटे पनि राजीनामा नदिने अडान कायमै राखेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया