काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले संसदीय दलको नेताबाट हटेपनि आफूले राजनीनामा नदिने बताएका छन् ।
आज नेपाली कांग्रेस प्रदेश संसदीय दलको बैठकबाट लामाले संसदीय दलको मान्यता गुमाएका थिए । प्रदेश सभाका बहुमत सदस्य उनको विपक्षमा भएसँगै उनी संसदीय दलको नेताबाट हटेका हुन् । उनको पक्षमा १५ जना सांसद उभिँदा उनको विपक्षमा २२ जना सांसद उपस्थित रहेका थिए ।
संसदीय दलको नेताबाट हटेपछि हेटौँडामा पत्रकारहरुसँग कुरा गर्दै लामाले आफूले राजीनामा नदिने अडान कायम राखेका हुन् ।
‘सरकारबाट राजीनामा दिनुपर्छ भन्ने नै छैन । सरकार एउटा पाटो हो, संसदीय दल अर्को पाटो हो,’ मत विभाजन प्रक्रियापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘मुख्यमन्त्री पदबाट हटाउनपर्ने कुनै आधार छैन । हटाउनुपर्ने पनि होइन । मुख्यमन्त्री हुनका लागि दलको नेता चाहिँदैन ।’
त्यस्तै उनले आफूमाथि आफ्नै पार्टीबाट प्रपञ्च रचिएको बताए । आफू अन्तिमसम्म पनि मिलेर जाने पक्षमा रहे पनि कांग्रेसकै अन्य नेताहरु आफूलाई असफल बनाउन लागेको उनको तर्क छ ।
‘मत विभाजन भयो । यो प्रक्रिया हो । प्रक्रियामा गएको हो । प्रक्रियामा जाँदा अविश्वासका प्रस्ताव लगाउँदा आरोप लगाइयो । जुन प्रपञ्च लगाइएको छ, नेपाली कांग्रेसलाई प्रपञ्च बनाइएको रहेछ । मैले त्यस्तो हेरेको थिइनँ,’ लामाले भने, ‘सबैलाई मिलाएर जाऔं भन्दा विभिन्न किसिमका जालहरू रचिएको रहेछ । मलाई थाहा थिएन । मेरै मन्त्रीहरू पनि जालोभित्र रहेछ । कसैको प्रेसर पनि रहेछ । नेताहरू यसरी लाग्नु भनेको राम्रो पनि होइन । लोकतान्त्रिक विधिमा जानुपर्छ भन्ने हो । लोकतान्त्रिक विधि अनुसार प्रक्रिया सुरु हुन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया