बागमती प्रदेश सरकारका अर्का मन्त्रीले पनि दिए राजीनामा

लोकपथ
2.3k
Shares

काठमाडौं । बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्री श्यामकुमार खड्काले पनि पदबाट राजीनामा दिएका छन् । 

कांग्रेस संसदीय दलको कार्यालयमा मुख्यमन्त्री बहादुरसिंह लामासमक्ष उनले राजीनामा बुझाएका हुन् । राजीनामा दिएसँगै लामाविरुद्धको अविश्वास प्रस्तावमा खड्काले हस्ताक्षर गरेका छन् । लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदको संख्या २२ पुगेको छ ।

यसअघि साउन ९ गते चार मन्त्रीले राजीनामा दिएका थिए । युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी र सहकारी तथा गरिबी निवारणमन्त्री मधुकुमार श्रेष्ठले त्यस दिन राजीनामा दिएका थिए । मुख्यमन्त्री लामाले भने त्यसै दिन पदमुक्त भएको पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटालाई पठाएका थिए ।

उता, बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्तावबाट प्रदेश सभाका दुई जना सदस्य पछि हटेका छन् । 

कांग्रेस प्रदेश सभा सदस्यहरू माया श्रेष्ठ र मिना पराजुली अविश्वास प्रस्ताव दर्ताबाट ‘ब्याक’ भएका हुन् । आफूहरूलाई जानकारी नै नगराई हस्ताक्षर गराइएको भन्दै उनीहरूले अविश्वास प्रस्ताव फिर्ता लिएको जानकारी गराएका छन् ।

‘अविश्वासको प्रस्तावमा हामीसमेतको हस्ताक्षर संकलन गरिएकोमा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा जानकारी नै नगराई हस्ताक्षर गराइएकोमा सोमा हामीहरूको असहमति रहेकोले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता बहादुर सिंह लामा (तामाङ) लाई समर्थन रहेको ब्यहोरा अवगत गराउँदछौँ,’ श्रेष्ठ र पराजुलीले जारी गरेको संयुक्त विज्ञप्तिमा लेखिएको छ ।

आज मंगलबार सार्वजनिक भएको पत्रमा ११ साउनको मिति उल्लेख छ । 

साउन ९ गते हेटौंडास्थित प्रदेशसभा सचिवालयमा रहेको कांग्रेस संसदीय दलको कार्यालयमा इन्द्रबहादुर बानियाँसहित २१ जना बहुमत सांसदले लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएकोमा त्यस दिन श्रेष्ठ र पराजुली भने संसदीय दलको कार्यालयमा उपस्थित थिएनन् । उनीहरूले अविश्वास प्रस्ताव फिर्ता लिएकाले अब लामाको पक्षमा १८ र बानियाँको पक्षमा १९ जना छन् ।

३७ जना सांसद रहेको संसदीय दलमा संसदीय दलको नेता हुन १९ जनाको समर्थन जुटाउन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?