काठमाडौं । सशस्त्र प्रहरी बलको रिक्त एउटा नायव महानिरीक्षक (डीआईजी) पदमा मनिष थापा बढुवा भएका छन् ।
सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका थापालाई बढुवा समितिको असार ३२ गतेको बैठकले बढुवाका लागि सिफारिस गरेको थियो । गृहमन्त्रीस्तरीय निर्णयले थापा डीआईजीमा बढुवा भएका हुन् ।
सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकका ९ जनामध्ये थापा डीआईजी बन्ने सातौँ र अन्तिम व्यक्ति हुन् । अन्य दुई जना प्रकाश थापा र विनोदराज श्रेष्ठले पटक पटकको प्रयासबाट पनि स्टाफ कलेज गर्न नसकेपछि उनीहरू अब एसएसपीबाटै घर जाने छन् । सशस्त्र प्रहरीमा डीआईजीमा बढुवा हुनका लागि स्टाफ कलेज अनिवार्य गर्नुपर्छ । यद्यपि, नेपाल प्रहरीबाट सशस्त्रमा स्थानान्तरण भएकाको हकमा भने यो नियम लागू हुँदैन ।
नेपाल प्रहरीमा प्राविधिक सईमा भर्ना भएर सशस्त्रमा आएका कृष्णराज पाठक र प्रवीण कँडेललाई डीआईजी बन्न स्टाफ कलेज गर्नुपर्दैन । पाठकभन्दा मुनीका ९ जना डीआईजी बनिसक्दा पनि कमजोर कार्यसम्पादनका कारण उनी अहिले पनि एसएसपी नै छन् । कँडेल भने सिसं १ सशस्त्र प्रहरी निरीक्षक बेसिकभन्दा मुनी र २ भन्दा माथिको वरीयतामा छन् । आफूभन्दा जुनियर दुई जना दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्टलाई डीआईजी बनाएको झोँकमा उनले सशस्त्र प्रहरी अधिकृत सम्मेलनमै सशस्त्र प्रहरी नेतृत्वमाथि धावा बोलेका थिए । तथ्य र प्रमाणहीन आरोप लगाएको भन्दै उनलाई सशस्त्र प्रहरी मुख्यालयले १२ घण्टेसहित दुई ओटा स्पष्टीकरण पनि सोधेको थियो । यद्यपि, शक्तिकेन्द्रको आडमा उनी कारबाहीमा पर्नबाट भने जोगिएका छन् । तथ्य र प्रमाणहीन कुरा बोलेको भन्दै सशस्त्र प्रहरीमा पछिल्ला दिनमा उनको चर्को आलोचना हुने गरेको छ ।
वरिष्ठ अधिकृत सम्मेलनमा दिएको अभिव्यक्तिबारे लोकपथले समाचार प्रकाशन गरेपछि कँडेल आफूविरुद्ध समाचार दिने व्यक्ति जसरी पनि खोजेरै छाड्छु भन्दै हिँडेको पनि समाचार स्रोतको भनाइ छ ।
यस्तै, असार ३२ गते नै लेखा उपसमूहतर्फ का.मु. एसएसपीबाट एसएसपीमा बढुवा सिफारिस भएका होमबहादुर ज्ञवाली र प्राविधिक समूह सञ्चार तथा इन्जिनियरिङतर्फ प्राविधिक एसपीबाट एसएसपीमा बढुवा सिफारिस भएका इन्जिनियर मिलनमान मास्के पनि गृहमन्त्रीस्तरीय निर्णयबाट बढुवा भएका छन् ।
उनीहरू तीनै जनालाई आज दिउँसो ३ बजे सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित अल्फ्रेस्को गार्डेनमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ ।
सो कार्यक्रममा उपस्थितिका लागि प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक र सो भन्दा माथिका अधिकृतहरू तथा उपत्यकास्थित कार्यालयका कार्यालय प्रमुखहरू, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, सिंहदरबारका अधिकृत र यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनीका समादेशकलाई बार अनुसारको कार्यालय पोसाकमा अनिवार्य रूपमा उपस्थिति हुन भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया