सर्ट फिल्म ‘निःशब्द’ : सन्तानविहीन दम्पतीको मौन पीडा पर्दामा

लोकपथ
49
Shares

काठमाडौं । डकुमेन्ट्री तथा सर्ट फिल्म मेकर रामजी ज्ञवालीको नयाँ प्रोजेक्ट ‘निःशब्द’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।

हालै सार्वजनिक गरिएको फस्टलुक पोस्टरले फिल्मको गहिरो र भावनात्मक कथावस्तुको संकेत दिएको छ । पोस्टरमा देखिएका तीन पात्रका अनुहारका गम्भीर अभिव्यक्तिले फिल्मले समाजका संवेदनशील विषयवस्तुलाई उठान गरेको स्पष्ट हुन्छ ।

निर्देशक, लेखक तथा निर्माता रामजी ज्ञवालीका अनुसार, ‘निःशब्द’ सन्तान नहुँदा समाज र परिवारबाट झेल्नुपर्ने मानसिक दबाब, विवशता र मौन पीडालाई पर्दामा उतार्ने प्रयास हो ।

उनले भने, ‘सर्ट फिल्ममा छोटो समयमा धेरै कुरा बोल्नुपर्छ । ‘निःशब्द’मा पनि तथ्य र यथार्थका आधारमा समाजको कथा चित्रण गर्न खोजेको छु, जसले दर्शकलाई भावनात्मक रूपमा छोईदिन्छ र सोच्न बाध्य पार्छ ।’

फिल्म सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको हो। यसमा ओजस्वी विक्रम विष्ट, मिसेल घिमिरे र दिवस नाथको मुख्य भूमिका छ। फिल्मको छायांकन शंकल्प भुजेल, सम्पादन नहकुल खड्का, साउन्ड डिजाइन भरत कंडेल र कलर ग्रेडिङ राजेन्द्र मोक्तानले गरेका छन् ।

फिल्म अहिले पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा छ । निर्देशक ज्ञवालीले ‘निःशब्द’लाई च्यारिटी शोमार्फत दर्शकमाझ ल्याउने, अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा पठाउने र अवार्ड प्रतिस्पर्धामा उतार्ने तयारी गरेका छन् ।

उनले भने, ‘फिल्मको सम्पूर्ण काम सकिएपछि मात्र दर्शकसमक्ष ल्याउने योजना बनाउँछौं। युट्युब हाम्रो पहिलो प्राथमिकता भने होइन।’

ज्ञवालीका अधिकांश सिर्जनाले कुनै न कुनै सामाजिक सन्देश बोकेको हुन्छ । डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’, ‘लापत्ता सन्तान’ र डकुड्रामा ‘मौन’ र हालै बनेको ‘निःशब्द’ सहित निर्देशक ज्ञवालीको निर्माण तथा निर्देशनमा बनेका ४ वटा प्रोजेक्ट प्रदर्शनको प्रर्खाइमा छन् ।

‘रित्तो गाउँ’ अहिले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय अवार्ड जित्दै विभिन्न फेस्टिभलमा प्रदर्शन भइरहेको छ ।

एक दशक लामो पत्रकारिता यात्रापछि फिल्म निर्देशनमा होमिएका ज्ञवालीले यसअघि ‘डार्कमुन’, ‘एक लभर’, ‘हनिमुन’, ‘आराध्या’, ‘लिलामी’लगायतका सर्ट फिल्म र थुप्रै म्युजिक भिडियो निर्माण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?