काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र विपक्षी दल नेकपा एकीकृत समाजवादीले सरकारका गलत क्रियाकलापविरुद्ध संसदमा खरो रुपमा प्रस्तुत हुने भएका छन् ।
सोमबार सिंहदरबारमा भएको दुई दलका नेताहरुको भेटघाटले यस्तो निर्णय गरेको हो ।
भेटमा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान तथा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु सहभागि रहेका थिए ।
मंगलबार बस्ने समाजवादी मोर्चाको बैठकलाई उपलब्धिमुलक र प्रभावकारी बनाउन आवश्यक रणनीतिबारे दुई पार्टीका नेताहरुबिच छलफल भएको नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।
त्यस्तै संसदमा विचाराधीन रहेका विधेयकहरू, विशेषगरी शिक्षासम्बन्धी विधेयक र संघीय निजामति विधेयकमाथि भएको षड्यन्त्रबारे समेत गम्भीर छलफल भएको उनले बताए ।
उनले भने, ‘भोलि समाजवादी मोर्चाको बैठक छ । मोर्चाको बैठकलाई कसरी उपब्लब्धीमुलक बनाउने ? सफल बनाउने भन्ने मुख्य विषयमा आज हामीले छलफल गर्यौं । त्यसपछि अहिले संसदमा विभिन्न विचाराधिन विधेयकहरु छन् । शिक्षासम्बन्धी विधेयक अड्काएर राखिएको छ । संघीय निजामति विधेयकमा षड्यन्त्र भएको छ । राष्ट्रिय सभाबाट पनि विधेयकलाई उल्ट्याउने प्रयास गरिएको छ । संसदमा खेल्नुपर्ने भूमिकाको विषय पनि छ । यी विषयमा दुवै पार्टीका माननीय सदस्यहरुले संसदको दुवै सदनमा सशक्त तरिकाले भूमिका कसरी खेल्ने भन्ने विषयमा छलफल भयो । त्यसमध्येपनि सरकारका गलत प्रवृत्तिहरुविरुद्ध संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आज छलफल भयो ।’
सरकारका नीतिगत कमजोरीहरू र गलत प्रवृत्तिका विरुद्ध खरो रुपमा प्रस्तुत हुन दुवै दलका नेताहरु सकारात्मक भएको ज्वालाको भनाइ छ ।
त्यसो त पछिल्ला दिनहरुमा सरकारका एकपछि अर्को अकर्मन्यताहरु बाहिरिँदा समेत माओवादी केन्द्र र एकीकृत समाजवादी संसदमा चुप जस्ता देखिएका छन् । खासगरी भिजिट भिसा प्रकरणमा अन्य विपक्षी दलहरुले विरोध जनाइरहँदा माओवादी केन्द्र भने सरकारसँग दुई बुँदे सहमति का नाममा सरकारसँग मिल्न गएपछि अहिले संसदमा थप कमजोर बनेको टिप्पणी भइरहेको छ । अन्य विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले निरन्तर विरोध जनाइरहेका छन् ।
गत जेठ १३ गतेदेखि निरन्तर विरोधमा रास्वपा र राप्रपा रहँदा माओवादी केन्द्र र एकीकृत समाजवादी भने सत्तापक्षकै कित्तामा उभिएको जस्तो देखाइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया