कारागारमा दुर्गा प्रसाईँको दिनचर्या– नातीलाई धेरै सम्झिन्छन्, नेताहरुप्रति झोक्किन्छन्

लोकपथ
2.6k
Shares

काठमाडौं । चैत १५ को तीनकुने घटनाका मुख्य आरोपी मेडिकल व्यवसायी दुर्गा प्रसाईँले डिल्लीबजार कारागारबाट भावुक अपिल जारी गरेका छन् ।

आफ्नो स्वकीय सचिवालय मार्फत् एक अपिल जारी गर्र्दै आफू कारागारमा रहे पनि हार नमानेको र थप रणनीति बनाइरहेको बताएका छन् ।

उनले आफूले आफ्नो लागि भन्दा देश र जनताका लागि धेरै सोच्दा आफू कारागारमा पुगेको समेत गरेका छन् । सामान्य परिवारमा हुर्किएर विभिन्न घटनाक्रमका कारण आफू ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृती तथा नागरिक बचाउ महाअभियान’ मा लागेको स्मरण गरेका छन् ।

साथै आफू कहिले माओवादी त कहिले एमाले हुँदा नेताहरुले प्रयोग मात्रै गरेको भन्दै पश्चाताप समेत गरेका छन् ।

त्यस्तै प्रसाईँले आफूले कारागारमा रहँदा नातीलाई धेरै सम्झिएको भन्दै भावुकता व्यक्त गरेका छन् ।

नातीले आफूलाई धेरै सम्झिने गरेको बताउँदै उनले भनेका छन्, ‘सबै नेपालीले आफ्ना सन्तानका साथमा जीवन जिउन पाउन्, प्रत्येक हजुरबुबा–हजुरआमाका काखमा नातिनातिना होऊन् भनेर अभियान सुरु गरेको मलाई मेरो नातिले धेरै याद गर्छ रे । हजुरबा कहिले आउने भनेर सोध्छ रे ।
परिवारले बाहिर जानुभएको छ, आउनुहुन्छ भन्दा मोबाइलमा फोटो हेर्छ रे । एक मनले सोच्छ, कारागारमै बोलाएर एकछिन भए पनि नाति खेलाउँ । अनि सोच्छु, के सम्हालिएला र मन ? नातिका अगाडि भक्कानिएँ भने के भन्ला उसले ?’

झापामा बिएण्डी अस्पताल तथा मेडिकल कलेज समेत चलाइरहेका प्रसाईँले आर्थिक अभाव भोगिरहेका कोही बिरामी भए आफ्नो अस्पतालमा गएर निःशुल्क उपचार गर्न समेत आग्रह गरेका छन् । साथै आर्थिक अभावमा छाक टार्न धौधौ परेकाहरुले आफ्नो अभियानका साथीहरुमार्फत् सहयोग लिन समेत आग्रह गरेका छन् ।

‘जो आर्थिक अभावमा उपचारबाट वञ्चित हुनुहुन्छ, झापाको बीएण्डसी अस्पताल जानुहोला । मेरो नाममा बिल बनाएर उपचार गराउनु । बिहान–साँझ खान नै धौ–धौ भयो भने अभियानका साथीहरूलाई भन्नुहोला । जो वास्तवमै पीडामा हुनुहुन्छ, चिन्ता नगर्नुहोस् । सूर्यमा सधैँ ग्रहण के लाग्ला र ? एक दिन त खुल्ला नि आकाश, अनि उज्यालो हुनेछ धर्ती ,’ प्रसाईँले भनेका छन् ।

त्यस्तै ०८१ चैत १५ को तीनकुने घटनामा आफ्नो कुनै दोष नभएको समेत उनले दाबी गरेका छन् । आफू राजावादी आन्दोलनका लागि तीनकुने आउनुभन्दै अगावै प्रहरीले कार्यक्रम बिथोल्न खोजेपछि मात्रै आफू आक्रोशित बनेको उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?