अहिले नयाँ बैंक खोल्न लाइसेन्स दिन सकिने अवस्था छैन : डेपुटी गभर्नर ढुंगाना

लोकपथ
665
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले अहिलेको अवस्थामा नयाँ बैंक खोल्नका लागि लाइसेन्स वितरण गर्न नसकिने स्पष्ट पारेकी छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अहिले बैंकिङ क्षेत्रमा नयाँ संस्थाको लाइसेन्स दिन राष्ट्र बैंक तत्पर नभएको बताइन् ।

उनका अनुसार हालै बैङ्कहरूबिच मर्जको लहर चलेको, कतिपय संस्थामा समस्याहरू देखिएको, र विगतमै बैंकहरूको संख्या घटाएर स्थायित्व ल्याउने नीतिगत पहल भएकाले अहिले पुनः नयाँ बैंक खोल्ने दिशामा हतार गर्नु उपयुक्त नहुने स्पष्ट पारिन् ।

ढुंगानाले भनिन्, ‘२ वर्षअघि हामीले नै १५–१८ वटा बैंक पर्याप्त हुन्छ भन्ने अध्ययन गरेका थियौँ । अब त्यसलाई मिचेर धमाधम नयाँ लाइसेन्स दिने कुरा सम्भव छैन । कुनै आधार, अध्ययनबिना हामी अघि बढ्दैनौँ ।’

उनले बैंकहरुमा अस्वस्थ प्रतिस्पर्धा चर्कन नपाओस् भन्ने उद्देश्यले पनि लाइसेन्स वितरणको विषयमा राष्ट्र बैंक गम्भीर रहेको बताइन् । उनका अनुसार बैंक मर्जरलाई नियमन गर्ने र वित्तीय स्थायित्वलाई सुदृढ बनाउनेतर्फ राष्ट्र बैंक केन्द्रित छ ।

ढुंगानाले पछिल्ला वर्षहरूमा बैंकिङ प्रणालीको विस्तार, आधुनिकीकरण, वित्तीय पहुँचको वृद्धि, भुक्तानी प्रणाली सुधार, र पुँजी वृद्धिका पहलहरूले समग्र आर्थिक स्थायित्वमा सकारात्मक प्रभाव पारेको बताइन् ।

डिजिटल बैंकको सन्दर्भमा भने उनले सम्भाव्यता अध्ययन आवश्यक रहेको बताउँदै त्यस्ता छुट्टै प्रकृतिका संस्थाका लागि अध्ययन गरेर मात्र लाइसेन्स दिन सकिने बताइन् । ‘बजेटमा पनि डिजिटल बैंकको उल्लेख छ, यसमा हामी सकारात्मक छौँ, ‘उनले भनिन्, ‘तर निर्णय सबै कुरा हेरेर मात्र हुन्छ ।’

डेपुटी गभर्नर ढुंगानाले कोभिड र त्यसपछिका अन्तर्राष्ट्रिय आर्थिक असरका कारण पछिल्ला वर्षमा नेपाली अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको पनि उल्लेख गरिन् । तर उनले पछिल्लो समय सुधारको संकेत देखिन थालेको बताउँदै आर्थिक सूचकहरू क्रमशः सकारात्मक दिशातर्फ उन्मुख रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?