काठमाडौं। संघीय संसद भवन निर्माण सम्बन्धी छलफलका लागि बोलाइएको संसदीय समितिको बैठक मन्त्री अनुपस्थित भएपछि स्थगित गरिएको छ ।
सिंहदरबारमा आइतबार बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठक उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह नआएपछि स्थगित गरिएको हो ।
बैठकमा निर्माणाधीन संघीय संसद भवनको कार्यतालिका र सोको कार्यान्वयन सुनिश्चित गर्ने मन्त्रालयको तयारीबारे छलफल हुने कार्यसूची तय गरिएको थियो । तर मन्त्री सिंह बैठकमा अनुपस्थित हुने सूचना आएपछि सांसदहरुले बैठक स्थगित गर्न माग गरे ।
समितिका सभापति ठाकुर गैरेले सांसदहरुको आग्रहपछि बैठक स्थगित गर्दै मन्त्रालयले समितिका निर्देशनलाई अटेर गरेको टिप्पणी गरे। उनले भने, ‘संसद भवन निर्माण प्रगति र म्याद थपबारे तीन दिनभित्र लिखित जवाफ पठाउन निर्देशन दिएका थियौं, तर जवाफ नआएको मात्र होइन, पत्र लिन नै धेरै समय लाग्यो।’
राप्रपाका सांसद बुद्धिमान तामाङले संसदलाई कमजोर ठान्ने प्रवृत्ति गलत भएको बताउँदै भने, ‘किन तीन महिना म्याद थपियो, के आधारमा थपियो भन्ने प्रश्न उठेको हो। मन्त्रीज्यू नै नआउने हो भने बैठक राख्नुको अर्थ छैन।’
नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले समितिलाई बेवास्ता गर्ने प्रवृत्तिको आलोचना गर्दै भने, ‘समितिले पठाएको पत्रको जवाफ नदिने, मन्त्री पनि उपस्थित नहुने हो भने यस्तो समिति खारेज नै गर्नु राम्रो ।’
यस्तै, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मन्त्रीहरुको गैरजिम्मेवार व्यवहारप्रति आक्रोश व्यक्त गरे। उनले सरकारको प्रतिनिधि बिना संसदीय प्रक्रिया अपुरो हुने भन्दै भने, ‘मन्त्रीलाई खुरुखुरु छोड्ने हो भने जिम्मेवारी कसले लिने ? काम समयमै किन सकिएन भन्ने प्रश्नको जवाफ दिनुपर्छ।’
बैठक स्थगित भए पनि समितिले मन्त्रालयलाई तीन दिनभित्र स्पष्ट लिखित जवाफ पठाउन पुनः निर्देशन दिएको छ । सांसदहरुले सरकार र मन्त्रीको समिति प्रतिको जवाफदेहीता सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया