संसदीय समितिले त्रिवि क्रिकेट मैदानको अवलोकन गर्ने

लोकपथ
105
Shares

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको अनुगमन गर्ने भएको छ ।

आइतबार बसेको समितिको बैठकमा मैदान निर्माणको प्रगति मूल्यांकन गर्न सोमबार (साउन १४ गते) दिउँसो २ बजे निरीक्षण गरिने जानकारी दिइएको हो ।

समितिका सभापति ठाकुरप्रसाद गैरेका अनुसार मैदानमा हाल स्तरोन्नति, प्यारापिट निर्माण र फ्लड लाइट जडानको काम भइरहेका छन् । तर तोकिएको समयमा काम नसकिएकाले निर्माण कम्पनीलाई हर्जाना लागिरहेको र हाल काम तीव्र गतिमा भइरहेको उनले बताए ।

मैदानको प्यारापिट निर्माणका लागि बिकेओआई केसिडिसी बिजीको जोइन्ट भेन्चर (जेठी) कम्पनीले जिम्मा लिएको छ भने, फ्लड लाइट जडानका लागि विशन ईश्वरी जेठी कम्पनीसँग सम्झौता भएको हो । दुवै कम्पनीले संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग गत फागुन १९ र २२ गते सम्झौता गरेका थिए ।

समितिको अनुगमनपछि निर्माण कार्यको गति, गुणस्तर र समयसीमा सम्बन्धमा थप चासो र निगरानी बढ्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?