काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारलाई विकल्पको अभाव रहेको बताएका छन् ।
राजधानीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सिटौलाले वर्तमान सरकार एक विशेष परिस्थिति र समझदारीमा बनेको भन्दै अब बाँकी कार्यकाल पनि यही सरकारले नै पूरा गर्ने बताए ।
उनले कुनै पनि दलको स्पष्ट बहुमत नरहेको र वैकल्पिक सरकार गठन हुने सम्भावना नरहेको उल्लेख गरे । सिटौलाले भने, ‘कसैको बहुमत छैन, प्रचण्डजीले नछोडेको भए त्यही सरकार चलिरहन्थ्यो होला । एउटा परिस्थितिमा निर्माण भएको सरकार हो । अर्को सरकार बन्ने स्थिति देखिँदैन ।’
उनका अनुसार नेपाली कांग्रेस र एमालेबीच भएको सहमति अनुसार नै सरकार अघि बढ्नेछ । यद्यपि, उनले सरकार गठन भएको एक वर्षको अवधिमा अपेक्षाअनुसार काम हुन नसकेको स्वीकार गरे ।
‘वर्षदिनको समीक्षा गर्दा राजनीतिक दलहरूले अपेक्षा गरेजस्तो काम हुन सकेको छैन,‘उनले भने, ‘तर यो सरकार कन्टिन्यु जान्छ । जे सम्झौता भएको हो, त्यसबमोजिम सरकारले कार्यकाल पूरा गर्दछ ।’
सिटौलाले संविधानको कार्यान्वयनको पुनरावलोकन गर्ने र आवश्यक संशोधनको विषयमा पनि सरकार गम्भीर रहेको बताए । ‘संविधान कार्यान्वयनको समीक्षा गर्ने र संशोधनसम्बन्धी विषयमा कार्यदल बनाएर अघि बढ्ने तयारी भइरहेको छ,’ उनले स्पष्ट पारे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया