निर्मला हत्या प्रकरण : ७ वर्ष बित्दा पनि अपराधी पत्ता लागेन

लोकपथ
385
Shares

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष पूरा भए पनि अपराधी अझै पत्ता लाग्न सकेकाे छैनन् ।

विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव साउन ११ गते बिहान घरनजिकैको उखुबारीमा फेला परेको थियो । घटनाले मुलुकभर आक्रोश फैलिएको थियो । दोषीलाई कानुनी दायरामा ल्याउन माग गर्दै देशव्यापी आन्दोलनसमेत भएका थिए ।

घटनाको अनुसन्धानका लागि सरकार, प्रहरी, राष्ट्रिय मानवअधिकार आयोगलगायतले छुट्टाछुट्टै छानबिन समिति गठन गरेका थिए। यस प्रकरणमा प्रहरीको सबैभन्दा बढी स्रोतसाधन खर्च भए पनि ठोस परिणाम प्राप्त हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता सागर बोहराका अनुसार हालसम्म पनि अनुसन्धानलाई प्राथमिकतामा राखेर काम भइरहेको छ । उनका अनुसार १२४ जनाको डिएनए परीक्षण गरिनुका साथै ६५५ जनालाई सोधपुछ गरिसकिएको छ । ‘केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का १० वटा टोलीले अनुसन्धान गरिसकेका छन्, ‘उनले भने, ‘हाल पनि सिआइबी र जिल्ला प्रहरीको टोली अनुसन्धानमा संलग्न छन् ।’

घटना भएको एक महिनापछि २०७५ भदौ ४ गते जिल्ला प्रहरीले दिलीपसिंह विष्टलाई अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो । तर, उनी मानसिक रोगी भएको र झूटो रूपमा फसाइएको भन्दै कञ्चनपुरमा आन्दोलन चर्किएको थियो। त्यसपछिको अनुसन्धानमा निर्दोष ठहरिएपछि विष्ट रिहा भएका थिए ।

सात वर्ष बितिसक्दा पनि अपराधी पत्ता नलाग्नुले न्यायप्रणालीप्रति प्रश्न उठेको छ । निर्मलाका परिवार, स्थानीयवासी र नागरिक समाज अझै पनि न्यायको पर्खाइमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?