‘मर्निङ वाक’मा हात्तीसँग जम्काभेट भएपछि…

लोकपथ
210
Shares

झापा । ‘मर्निङ वाक’मा रहेका दमक नगरपालिका–१ बरगाछीका दुई महिलालाई जङ्गली हात्तीले आक्रमण गर्दा उनीहरू घाइते भएका छन् ।

घाइते हुनेमा दमक –१ ४२ वर्षीया कविता राई र ४७ वर्षीया सुनिता राई रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

उनका अनुसार घरबाट निस्केर बाटोमा हिँडिरहेका बेला  नजिकैको जङ्गलबाट निस्किएको हात्तीसँग उनीहरूको आज बिहान जम्काभेट भएको थियो । 

उनीहरूलाई हात्तीले सुँढले बेरेर लडाएका जनाइएको छ ।  उनीहरूको टाउको, हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ । घाइतेलाई तत्काल उपचारका लागि दमक अस्पतालमा लगिएको छ ।

घाइतेमध्ये सुनिताको अवस्था गम्भीर रहेको बताइएको छ । आक्रमणपछि हात्ती जङ्गलतिर पसेको थियो । झापाको जलथल, निचाझोडा र स्थानीय सामुदायिक वनमा एक दर्जनभन्दा बढी सङ्ख्यामा रैथाने हात्ती बस्दै आएका छन् । 

जङ्गल छेउका बासिन्दा ती हात्तीको आक्रमणमा पर्दै आएका छन् । निगुरो र च्याउ टिप्न जाँदा, घाँस दाउरा खोज्न जाँदा र मर्निङ वाकमा हिँड्दा हात्तीले आक्रमण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?