काठमाडौं । ललितपुर र काठमाडौंमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ललितपुरको बालकुमारीमा शुक्रबार दिउँसो मिनी ट्रकले ठक्कर दिँदा एक महिलाको ज्यान गएको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार ग्वार्कोबाट कोटेश्वरतर्फ गइरहेको बा ४ ख २४७७ नम्बरको मिनी ट्रकले बालकुमारीस्थित सडकमा करिब २३ वर्षकी पैदलयात्री महिलालाई ठक्कर दिएको थियो ।
घाइते अवस्थामै बिएन्डबी अस्पताल लगिएकी ती महिलाको उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ भने ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैबिच, काठमाडौं महानगरपालिका–२९ भद्रकालीस्थित सडकमा शुक्रबार भएको अर्को सवारी दुर्घटनामा पनि एक जनाको मृत्यु भएको छ ।
बा ७५ प १९४४ नम्बरको स्कुटरलाई अज्ञात मोटरसाइकलले ठक्कर दिँदा स्कुटर चालक रामकृष्ण बजगाईँ गम्भीर घाइते भएका थिए। ललितपुर महानगरपालिका–१५ सातदोबाटोमा डेरा गरी बस्दै आएका बजगाईँ मकवानपुरको बकैया गाउँपालिका–४ का स्थायी बासिन्दा हुन् ।
उपचारका लागि पाटन अस्पताल लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । मोटरसाइकलको नम्बर खुलेको छैन भने चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया