काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले ठूला राजनीतिक दलहरू मिलेर सरकार बनाउने अभ्यास अब भ्रष्टहरूको फाइल जोगाउनका लागि भइरहेको आरोप लगाएका छन् ।
शनिबार काठमाडौंमा आयोजित रास्वपा रामेछाप उमाकुण्ड–काठमाडौं सम्पर्क विभागको भेलालाई सम्बोधन गर्दै वाग्लेले राजनीतिक स्थायित्वको नाममा विगतमा गरिएको प्रयोग अहिले नेपालमा भ्रष्टाचार लुकाउन प्रयोग गरिएको बताए । ‘क्रान्तिपछि स्थायित्वको नाममा सरकार बनाउने प्रयोग अब दुई–चार जनाको फाइल जोगाउनका लागि गरिँदैछ,‘ उनले भने, ‘नेपालमा पनि अब यस्तो दुर्लभ अभ्यास भइरहेको छ ।’
वर्तमान सरकारलाई ‘सफेद झुटको उपज’ भन्दै उनले संविधान संशोधनलाई बहाना बनाइएको आरोप लगाए। ‘समृद्धि र सुशासनको नारा दिने सरकारका मन्त्रीहरू नै भ्रष्टाचारमा डुब्नु लज्जास्पद हो, ‘उनले भने ।
डा.वाग्लेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले गृहमन्त्री रवि लामिछानेविरुद्ध कारबाही गर्नु नै सबैभन्दा ठूलो काम ठानेको कटाक्ष गरे ।
उनले भने, ‘यो सरकारको उपलब्धि भनेकै रविलाई थुन्नु हो भन्ने सोच छ, तर यसको परिणाम ठूला दलहरूले चाँडै भोग्ने छन् ।’
भेलामा उनले हालै रवि लामिछानेको पक्षमा २८ लाख नेपालीले हस्ताक्षर गरेर समर्थन जनाएको जानकारी पनि दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया