भावनाले मात्र कम्युनिष्ट एकता सम्भव छैन : झलनाथ खनाल

लोकपथ
217
Shares

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भावनाले मात्र कम्युनिष्टहरुको एकता सम्भव नहुने बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सही विचार बिना एकता हुन नसक्ने स्पष्ट पारे ।

खनालले भने, ‘कम्युनिस्टहरू एकताबद्ध हुनुपर्छ, यो असाध्यै राम्रो कुरा हो । तर भावनाले मात्रै एकता पक्कै हुँदैन। सही विचार नभई कन एकताबद्ध गर्न सकिँदैन ।’

उनका अनुसार अहिले नेपाल जनवादी क्रान्तिको चरण पार गर्दै समाजवादी क्रान्ति र रूपान्तरणको युगमा प्रवेश गरिसकेको छ। उनले कम्युनिष्टहरुलाई वर्तमान अवस्थाको मूल्यांकन गरेर मात्र सही दिशातर्फ उन्मुख हुन आग्रह गरे।

खनालले मार्क्सवाद–लेनिनवादलाई कम्युनिस्टहरूको मार्गदर्शक सिद्धान्तका रूपमा प्रस्तुत गर्दै भने, ‘मार्क्सवाद, लेनिनवाद नै सार्वभौम सिद्धान्त हो । यसको देब्रेतिर एउटा पुच्छर, दाहिनेतिर अर्को पुच्छर जोडिरहनुपर्ने केही जरुरी छैन ।’

उनले बहुदलीय जनवादलाई समाजवादको विकल्प नभएको दाबी गर्दै पुँजीवादी जनवादबाट समाजवाद सम्भव नहुने बताए । उनका अनुसार, वास्तविक समाजवाद प्राप्त गर्न मार्क्सवादी–लेनिनवादी धारमा आधारित विचार र रणनीतिले मात्र काम गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?