साउनभित्रै ड्राइभिङ लाइसेन्स वितरण सुरु गरिने, डिजिटल सेवा अन्य प्रदेशमा पनि विस्तार हुँदै

लोकपथ
1.8k
Shares

काठमाडौं । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले साउन महिनाभित्रै ड्राइभिङ लाइसेन्स छापेर वितरण सुरु गरिने बताएका छन् ।

हालै सुरु गरिएको ई–ड्राइभिङ लाइसेन्स (ईडीएल) प्रणालीले सेवाग्राहीहरूलाई सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै उनले उक्त जानकारी दिएका हुन् ।

मन्त्री महर्जनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गत वैशाख १९ गते सार्वजनिक गरिएको बागमती ईडीएल प्रणाली तथा अनलाइन बिलबुक सेवा ‘नागरिक एप’ मार्फत सेवा प्रवाह थालिएको हो ।

‘साउनभित्रै हामीले लाइसेन्स प्रिन्ट गरेर वितरण सुरु गर्छौँ,‘ मन्त्री महर्जनले भने, ‘यसबाट सेवाग्राहीहरूलाई प्रत्यक्ष फाइदा पुग्नेछ। अब जनतालाई पटक–पटक यातायात कार्यालय धाउनुपर्ने झन्झट हट्नेछ। हामी बिचौलिया संस्कृतिको अन्त्य गर्न चाहन्छौँ ।’

उनका अनुसार सेवाग्राहीहरूले आफ्नो सवारी साधनसम्बन्धी विवरण अनलाइनमार्फत भरेर यातायात कार्यालयमा एक पटक मात्र भेरिफिकेसन गराएपछि लाइसेन्स प्रक्रियामा अघि बढ्न सक्नेछन् ।

मन्त्री महर्जनले तीन महिनाको अवधिमा धेरै नागरिकले ईडीएल प्रणालीबाट लाभ लिइसकेको जानकारी दिँदै बागमतीबाट सुरु भएको यो डिजिटल सेवा अब अन्य प्रदेशहरूमा पनि क्रमशः विस्तार गरिने बताए ।

उनका अनुसार सातै प्रदेशमा आगामी वैशाखदेखि आ–आफ्नो प्रदेशमै ड्राइभिङ लाइसेन्स छाप्ने तयारी भइरहेको छ, जसको प्रारम्भ बागमती प्रदेशले गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?