काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालको नेपालमा प्रमुख खतरा राजतन्त्र वा सामन्ती निरंकुशतन्त्र नभई दलाल पुँजीवाद र भ्रष्ट संरचनाहरू रहेको स्पष्ट पारेका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले केही मुठ्ठीभर दलाल पुँजीपतिहरू, बिचौलिया र नोकरशाही पुँजीवादले राज्य व्यवस्थालाई कब्जा गर्दै विध्वंशकारी दिशामा लान थालेको गम्भीर आरोप लगाए ।
उनले भने, ‘नेपालमा अहिले दलाल पुँजीपतिहरू, बिचौलियाहरू, केही थोरैले नेपाल राज्यलाई विध्वंश पार्दैछन्। नेपालको अर्थतन्त्र र विकास प्रक्रियालाई कब्जामा लिइएको छ। आजको विकास र समृद्धिको यात्रामा नोकरशाही पुँजीवाद नै मुख्य बाधक बनेको छ।’
अध्यक्ष दाहालले पछिल्लो समय संघीय निजामती विधेयकमाथिको चलखेलप्रति पनि चिन्ता व्यक्त गरे। उनले विधायिका, अदालत, प्रशासनदेखि सम्पूर्ण क्षेत्रमा भ्रष्टाचार र शक्ति दुरुपयोग मौलाइरहेको बताए। ‘साँच्चै दयनीय स्थिति छ, विधायिकातिर हेर्दा लाजमर्दो अवस्था छ,‘उनले भने।
राजतन्त्र पुनःस्थापित हुने प्रयासबारे उनले भने, ‘उठ्न जमर्को गरे पनि नेपालमा सामन्ती निरंकुशतन्त्र र राजतन्त्र अब मुख्य दुस्मन होइन, त्यो उठ्नेवाला पनि होइन।’
अन्त्यमा, अध्यक्ष दाहालले भ्रष्टाचार, दलाल पुँजीवाद र नोकरशाही पुँजीवादविरुद्ध सम्पूर्ण प्रगतिशील शक्तिहरू एक हुनुपर्ने आवश्यकता औँल्याए । ‘अब हामीले यस विरुद्ध लड्ने संकल्प गर्नुपर्छ, ‘उनको आह्वान थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया