प्रचण्ड परिवर्तनको राजनीतिको ब्रान्ड हो : वर्षमान पुन

लोकपथ
497
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेपाली राजनीतिको ‘ब्रान्ड’ भएको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित अखिल ‘क्रान्तिकारी’को कार्यक्रममा बोल्दै उनले प्रचण्डकै नेतृत्वमा जनयुद्ध, शान्ति प्रक्रिया र संविधान निर्माण भएको स्मरण गरे ।

पुनले भने, ‘प्रचण्ड परिवर्तनको राजनीतिको ब्रान्ड हो, उहाँको ब्रान्ड भ्यालु अझै छ । तर, उहाँले पनि आत्मसमीक्षा र रूपान्तरण गर्नुपर्छ ।’

उनले विगतमा सरकार र पार्टीको नेतृत्व गरेका नेताहरूले आफ्ना कमजोरीको जिम्मा प्रचण्डको थाप्लोमा मात्र हालेर उम्कन नहुने बताए । पार्टीलाई गतिशील बनाउन पहिलो पुस्ताको अनुभव, तेस्रो पुस्ताको जोश र दोस्रो पुस्ताको समन्वय आवश्यक रहेको धारणा राखे ।

फरक प्रसंगमा पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकार निरंकुश, भ्रष्ट र स्वेच्छाचारी रहेको आरोप लगाए । उनले ओली फेरि संसद् विघटन गर्ने तयारीमा रहेको जिकिर गर्दै परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा अखिल क्रान्तिकारीका नेताहरू सन्दीप पुन, ममता अधिकारी, दीपा जैसी, निरज श्रेष्ठ र जटिल कार्कीले माध्यमिक तहसम्मको निःशुल्क शिक्षाको संवैधानिक प्रावधान कार्यान्वयनमा लाग्ने प्रतिबद्धता जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?