काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस र नेकपा एमालेमा वैचारिक र राजनीतिक संकट पहिरिरहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले देशका ठूला दलहरूमा ‘आइडोलोजिकल एण्ड पोलिटिकल क्राइसिस’ देखिएको उल्लेख गरे ।
अध्यक्ष दाहालले कांग्रेसमा विश्वेश्वरप्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाजस्ता महान नेताहरूले खेलेको भूमिका र योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको कमी देखिएको बताए ।
साथै, एमालेमा पनि वैचारिक, राजनीतिक र नेतृत्व संकटले पार्टी कमजोर बनाएको जिकिर गरे । उनले भने, ‘एमालेले मदन भण्डारी र जबजको आधारमा आफ्नो पहिचान बनाएको भए पनि अहिले जबजको उत्तराधिकारी को हो भन्ने विवाद सुरु भइसकेको छ ।’
पूर्वराष्ट्रपति विद्या भण्डारीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी आफू भएको दाबी गरेका विषयलाई लिएर पनि एमालेमा विवाद गहिरिएको दाहालले बताए । उनले यसलाई ‘ठूलो आइडोलोजिकल र पोलिटिकल क्राइसिस’ को रूपमा वर्णन गरे ।
दाहालले अहिले वैचारिक राजनीतिक संकट नभएको दल माओवादी केन्द्र मात्र रहेको दाबी गर्दै भने, ‘यसबेलाको राजनीतिक परिस्थितिमा माओवादी केन्द्र नै एक मात्र वैचारिक रूपमा स्थिर पार्टी हो ।
उनले ठूला दलहरूको वैचारिक कमजोरीलाई दुरुपयोग नगर्न सबैलाई सचेत रहन आग्रह पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया