‘कुलिङ अफ पिरियड’ प्रकरण : प्रचण्डद्वारा ओलीमाथि छानबिनको माग

लोकपथ
728
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती ऐनमा भएको कुलिङ अफ पिरियडसम्बन्धी छेडखानीको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने माग गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कुलिङ अफ पिरियड दुई वर्षका लागि सर्वसम्मत निर्णय भएको स्मरण गराउँदै एमाले सांसदहरूको पछिल्लो गतिविधिका कारण प्रधानमन्त्री ओली स्वयं पनि छानबिनको दायरामा पर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘सुरुमा संशोधनको क्रममा सबै जना दुई वर्षे कुलिङ अफ पिरियडको पक्षमा थिए। तर अन्त्यमा गएर एमालेले त्यसको विपक्षमा उभिएपछि वास्तविक नियत प्रस्टियो। अन्ततः बिरालोले म्याउँ गरेजस्तै एमालेले म्याउँ गर्‍यो, षड्यन्त्र एमालेकै रहेछ।’

दाहालले एमाले नेतृत्वकै निर्देशनमा ऐनमा छेडछाड गरिएको आरोप लगाउँदै संसदीय छानबिन समिति गठन गरी ओलीलाई पनि सो दायरामा ल्याउनुपर्ने बताएका छन्। उनले थपे, ‘सुरुमा नै शंका थियो, तर प्रमाण थिएन। अहिले सांसदहरूकै क्रियाकलापले प्रमाणित भएको छ-नियत एमालेको र त्यसको नेतृत्वको नै थियो।’

सरकारप्रति आक्रोश पोख्दै अध्यक्ष दाहालले भने, ‘अहिलेको सरकार भनेकै जालझेल, ठगी, भ्रष्टाचार र बेइमानीको परिभाषा बनेको छ ।’

माओवादी केन्द्रले संसदीय छानबिन समिति गठन गरी यस विषयमा सत्यतथ्य पत्ता लगाउन जोड दिएको छ। उनका अनुसार नेकपा (माओवादी केन्द्र)का सांसदहरूले पनि प्रतिनिधि सभामा ओलीविरुद्ध छानबिन माग गर्दै आवाज उठाइसकेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?