केपी ओलीको विकल्प विद्या भण्डारी ? यो नेतृत्व होइन, कुण्ठा हो !

लोकपथ
924
Shares

एमालेभित्र नेतृत्व परिवर्तनको बहस स्वाभाविक रूपमा अघि बढ्दै गएको छ ।  दुई कार्यकालसम्म अध्यक्ष रहेका केपी शर्मा ओलीले अब नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने आवाज उठ्नु लोकतान्त्रिक प्रक्रिया हो । तर समस्या त्यहाँ सुरु हुन्छ, जहाँ यो बहस साहसी, स्पष्ट, र वैकल्पिक नेताहरूको नाम नलिएर, विद्यादेवी भण्डारीजस्ता अनुहारको आडमा गरिन्छ ।

विद्या देवी भण्डारी पार्टीकी पुरानी नेतृ हुन्। उपाध्यक्ष पदमा रहँदै पार्टीका लागि लामो समय समर्पण गरिसकेको कुरा नकार्न सकिँदैन । तर जति त्याग र संघर्ष पार्टीभित्र गरिन् पार्टीले नै छलफल गरेर सबैभन्दा ठूलो पदमा पुर्‍यायो । 

तर, राष्ट्रपतिजस्तो गरिमामय र सर्वोच्च पदमा पुगेपछि फेरि एमालेको कार्यकर्ता बन्ने घोषणा गर्नुले गम्भीर बहस खडा गरेको छ । राष्ट्रपतिले पदीय निष्पक्षता कायम राख्नुपर्छ, त्यो जनअपेक्षा मात्र होइन, संविधानको मर्म पनि हो ।

यदि सक्रिय राजनीतिमा फर्किनुपर्ने नै थियो भने, राष्ट्रपति पद स्वीकृत गर्नु नै गलत निर्णय थियो भन्ने बहस चलेको छ । अब राष्ट्रपतिको पदावधि सकिएपछि सोही पार्टीको नेतृत्वमा आउने चाहना राख्नुले शक्ति र पदको मोह मात्र प्रकट गर्छ ।

 नेताहरू जो आफू नेतृत्व गर्ने आँट गर्दैनन् अझ अचम्म त त्यहाँ छ, जहाँ पार्टीभित्रका उपाध्यक्षजस्ता वरिष्ठ नेताहरू, सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, कर्ण थापा – आफैँको नाम नेतृत्वका लागि अगाडी ल्याउन सक्दैनन् । राजनीतिमा भण्डारीको भन्दा बढी त्याग गरेका नेताहरू नै नेतृत्वका लागि आफू तयार नहुनुको पछाडि धेरै बहस सिर्जना भएको छ ।

यदि तपाईँहरू ओलीभन्दा अनुभवी, सक्षम, र दूरदृष्टि भएका हुनुहुन्छ भने -आफू नेतृत्व लिन तयार छु भनेर किन भन्न सक्नुहुन्न ? आम प्रश्न उठको छ । यति लामो समय पार्टीमा योगदान दिएका नेताहरूले आफैँ अध्यक्ष बन्ने हिम्मत गर्न नसक्नु भनेको कुण्ठा र आत्मविश्वासको अभाव हो ।

उदाहरणको रूपमा भीमबहादुर रावललाई लिन सकिन्छ । उनले पनि नेतृत्वमा दाबी गर्न खोजे, तर आँट र आधार प्रस्तुत गर्न नसकेपछि उनले अहिले कार्यकर्ताको समर्थन गुमाएपछि नयाँ दलको पसल खोल्न पुगेका छन् । 

एमालेले सम्मानित पदमा पुगेको व्यक्ति सम्मानित नै भएर बस्नुस् भनिदिएपछि भने भण्डारी अलमलमा परेकी छिन् । यसैबिच भण्डारीले एमालेमा नै बसेर संघर्ष गर्नेछिन् वा कित्ता क्लियर गरेर पार्टी फुटाउनेछिन् भन्ने चर्चा चल्न थालेको छ । तर पार्टी फुटाउनेसम्मका हर्कतमा भण्डारी पुगेमा भने हालत अन्य नेताहरूको जस्तै बन्ने निश्चित देखिन्छ । 

विद्या भण्डारीको नेतृत्वको चाहना :  राजनीतिको शुद्धता माथि प्रश्न

विद्या भण्डारीले पार्टीको उपाध्यक्ष भएर योगदान पुर्‍याएकी थिइन्, तर राष्ट्रपतिको पद स्विकारेपछि उनी अब एउटै पार्टीको अध्यक्ष बन्न खोज्नु स्वाभाविक होइन । 

राष्ट्रपतिजस्तो पदीय गरिमाबाट अलग्गिएर फेरि दलीय राजनीतिमा फर्किनु स्वयं गणतन्त्रको मूल भावनासँग मेल खाँदैन ।

पछिल्लो समय विद्या भण्डारीले पार्टी नेतृत्व गर्न चाहेको कुरा आफैँले सार्वजनिक गरेकी छन् । तर यहाँ गम्भीर प्रश्न उठ्छ-अबका नेताहरू, जसले लोकतन्त्रको लागि संघर्ष गरेका थिए, उनीहरूले के नेतृत्व फेरि पूर्व राष्ट्रपतिलाई सुम्पिन खोज्दै छन् ? 

यदि त्यस्तो हो भने, कार्यकर्ताहरूले सोध्न सक्छन्, ‘तपाईँहरूले लोकतन्त्र, गणतन्त्र, र पदीय मर्यादाका लागि लडेका हो, वा आफ्नो स्वार्थ र पहुँच विस्तारका लागि ?’

नेतृत्व बन्ने आँट नभएका ‘उपाध्यक्षहरू’

उपाध्यक्ष बनिसकेपछि नेताहरू नै आगामी नेतृत्वका लागि वैकल्पिक उम्मेदवार हुनु पर्थ्यो । तर आफू अध्यक्ष बन्ने आँट नगर्ने तर एमालेभित्रको शक्ति सन्तुलनका लागि विद्या भण्डारीलाई अघि सारेर आफू लुक्ने प्रवृत्तिले राजनीतिलाई नयाँ मार्गमा नलैजाने कुरा स्पष्ट छ । 

तर ती नेताहरूले नेतृत्व क्षमता प्रमाणित गर्न सक्ने क्षमता छैन भने कार्यकर्ताले अब विश्वास राख्ने वाला छैनन् । अहिले स्थायी समिति र उपाध्यक्षसम्मको नेतृत्व पाएका नेताहरूले अध्यक्ष बन्न सक्ने आत्मबल देखाउन नसके अब उनीहरूलाई नेतृत्वको दाबी गर्नुको औचित्य छैन ।

त्यसो त पार्टी भित्र मात्र होइन, पार्टी बाहिर समेत भण्डारीको राजनीतिक सक्रियताबारे चर्चा भइरहेको छ । भण्डारी पार्टी राजनीतिमा सक्रिय भएसँगै कतै वाम एकता हुन्छ कि भन्ने आशा अन्य वामपन्थी नेताहरूले मनसुवा राखेको देखिन्छ । पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पूर्व राष्ट्रपति पार्टी सदस्य हुन नपाउने निर्णय गलत हो’ भनेर बोले । तर यदि माओवादीका अहिले उपाध्यक्ष बनेका पूर्व उपराष्ट्रपति बनेका नन्दबहादुर पुन पासाङले पनि माओवादी नेतृत्वका लागि दाबी गरेको भए प्रचण्डको बोली सायदै त्यो आउने थिइन् । जसरी पार्टी नेतृत्वकै लागि भन्दै भण्डारीले कदमहरू चालिन् । यदि भण्डारीले पनि नेतृत्वका लागि नभई सक्रियता मात्रै देखाएर भए एमालेले पार्टी सदस्यता पेण्डिङमा राख्ने निर्णय गर्ने थिइन् । 

नेतृत्व चाहिन्छ, आड होइन

पार्टीको नेतृत्वमा आउने मान्छेले आँट गर्नुपर्छ, विचार दिनुपर्छ र विकल्प देखाउनुपर्छ ।विद्या भण्डारी ‘मदन भण्डारीकी श्रीमती’ हुन् भनेर अध्यक्ष बनाउने कुरा कार्यकर्ताले अब स्वीकार गर्दैनन् । उनको योगदानको कदर गरिन्छ, तर राष्ट्रपति भएपछि फेरि दलिय राजनीतिमा फर्कन खोज्नु असंवैधानिक र अव्यावहारिक छ ।

ओलीको विकल्प खोज्नुपर्छ तर हो भने, त्यो विद्या भण्डारी होइन । एमालेभित्रैबाट अरू कोही बन्नुपर्छ ।  तर एमालेमा आफू नेतृत्वका लागि नआउने तर विद्यादेवी भण्डारीलाई अघि सारेर अध्यक्ष ओलीलाई कमजोर बनाउने विषय मूल एमालेले कदापि स्वीकार गर्दैन् । 

अब नेतृत्व त्यो बन्नेछ, जो खुलेर ‘हो, म ओलीको विकल्प हुँ’ भन्छ, र कार्यकर्तालाई विश्वास दिलाउँछ । होइन भने, अहिलेको परिस्थितिमा केपी शर्मा ओली जत्तिकै स्मार्ट, चतुर र अनुभवी नेता एमालेभित्र अरू कोही छैनन् भन्ने कुरा बुझ्नुपर्छ । त्यसैले नेतृत्व फेरबदलको नाममा भ्रम सिर्जना गर्नुको सट्टा, ओलीकै नेतृत्वमा पार्टीलाई मजबुत बनाउनु अहिलेको आवश्यकता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?