काठमाडौं । देशभर लगातारको वर्षापछिको बाढी र पहिरोका कारण मुख्य चार राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् । सर्वसाधारणको यात्रा प्रभावित भएको छ भने केही क्षेत्रमा वैकल्पिक मार्गसमेत नहुँदा राहत र उद्धारमा समेत समस्या भइरहेको जनाइएको छ ।
कर्णाली प्रदेशका दुई प्रमुख सडक मार्ग-कर्णाली करिडोर र भेरी करिडोर पूर्ण रूपमा ठप्प छन् । हुम्लाको सिमकोट क्षेत्रमा पहिरो जाँदा कर्णाली करिडोर अबरुद्ध भएको हो । त्यसैगरी रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–६ स्थित रिजिगार क्षेत्रमा बाढी आउँदा भेरी करिडोर अन्तर्गतको जाजरकोट–डोल्पा सडक पूर्णरूपमा बन्द भएको छ ।
पूर्वी नेपालतर्फ, संखुवासभाको भोटखोला गाउँपालिका–४, बरुण क्षेत्रमा आएको पहिरोका कारण कोशी राजमार्ग पूर्ण रूपमा बन्द छ । यसले पूर्व–पश्चिम यातायात सञ्जालमा समेत प्रभाव पारेको छ ।
उत्तरी क्षेत्रतर्फ, रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन सीमा जोड्ने पुलमा बाढीका कारण जोखिम बढेको छ । सुरक्षाका कारण पुल हुँदै सञ्चालन भइरहेको यातायात पूर्ण रूपमा रोकिएको प्रहरीको भनाइ छ ।
अद्यावधिक विवरणअनुसार (आज बिहान साढे १० बजेसम्म), काठमाडौंको टोखा–२ मा रहेको काठमाडौं–नुवाकोट सडक, बागलुङ तथा नवलपरासी पूर्वको कालीगण्डकी करिडोर र रोल्पाको परिवर्तन गाउँपालिका–५ ग्रामजिमस्थित सहिद राजमार्ग एकतर्फी रूपमा मात्र सञ्चालनमा छन्।
प्रहरीका अनुसार सबै अवरुद्ध मार्गहरू सुचारु गर्न प्रयास भइरहे पनि लगातारको वर्षा र जोखिमयुक्त भूगोलका कारण काममा कठिनाइ भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया