काठमाडौं । इरानको जेलमा रहेका ५ नेपाली स्वदेश फिर्ता भएका छन् । इरानी अदालतबाट थुनामुक्ति पाएका उनीहरू बिहीबार काठमाडौं अवतरण गरेका हुन् ।
परराष्ट्र मन्त्रालयका अनुसार उनीहरूको स्वदेश फिर्ती तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत तथा अन्तर्राष्ट्रिय आप्रवासन संगठन (IOM) को सहकार्यमा सम्भव भएको हो ।
मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस प्रक्रियामा सहयोग पुर्याउने भारत सरकार, इरान सरकारका सम्बन्धित निकाय तथा अधिकारीहरू, तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र IOM प्रति नेपाल सरकारको तर्फबाट आभार प्रकट गरेको छ ।
यसअघि, इजरायल र इरानबीच २०२५ जुन १३ देखि सुरु भएको द्वन्द्व जुन २३ मा युद्धविरामपछि सामान्य अवस्थामा फर्किँदै गएको थियो । द्वन्द्वको समयमा नेपाल सरकारले भारत सरकारमार्फत ‘अप्रेशन सिन्धु’ अन्तर्गत उद्धार अनुरोध गरेको थियो । सोही अनुरूप भारतीय विमानमार्फत तीन चरणमा गरी ९ जना नेपाली नागरिक इरानबाट भारत हुँदै नेपाल फर्किसकेका थिए ।
हालसम्म इरानबाट उद्धार गरिएका सबै नेपाली नागरिकहरू सकुशलरूपमा आ–आफ्नो घर फर्किसकेका छन् । मन्त्रालयले द्वन्द्वग्रस्त क्षेत्रबाट नागरिकको उद्धारमा देखाइएको सक्रियता र समन्वयलाई विशेष महत्व दिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया