गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधन, आइतबार अन्त्येष्टि गरिने

लोकपथ
1.4k
Shares

चितवन । नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । ७६ वर्षीय गुरुङको आज बिहान ८ बजे चितवनको भरतपुर–२६ स्थित आफ्नै निवासमा निधन भएको हो ।

विगत केही वर्षदेखि क्यान्सर रोगसँग संघर्ष गर्दै आएका गुरुङको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बन्दै गएको थियो । सन् २०२१ मा गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत थिए ।

कांग्रेस विभाजनका बेला उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापतिको जिम्मेवारीमा थिए भने भूमिसम्बन्धी आयोग नवलपरासीका अध्यक्षको भूमिकासमेत निर्वाह गरेका थिए ।

विसं २००६ सालमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–ल्वाङघलेलमा जन्मिएका गुरुङ पछि चितवनमा बसाइँसराइ गरेका थिए । राजनीतिक क्षेत्रमा लामो समय सक्रिय रहेका गुरुङ पार्टीभित्र इमानदार, निष्ठावान् र संयमित नेताका रूपमा चिनिन्थे ।

गुरुङका छोरा विदेशमा रहेका कारण अन्त्येष्टि आइतबार गरिने नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिएका छन् ।

उनको निधनप्रति नेपाली कांग्रेस लगायत विभिन्न राजनीतिक दलका नेताहरूले शोक व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?