काठमाडौं । शुक्रबार बिहानै सामाजिक सञ्जालमा तराइै मधेसको खडेरीबारे भावुक स्ट्याटस लेखेर प्रधानमन्त्री केपी शर्मा ओली त्यसतर्फ लागे ।
आफू मधेसको समस्यादेखि चिन्तित रहेको बताएका ओलीले सुख्खाग्रस्त भूमीको हेलिकप्टरबाट अवलोकन गरे ।
प्रधानमन्त्री ओलीले आफू तराई मधेसका जनतासँग भेट्ने भने पनि दिनभर विभिन्न आयोजनाहरु उद्घाटनमा नै समय बिताए । उद्घाटन मात्र होइन, ठूला सभाहरु गरेर, भाषण गरे ।

खडेरी लाग्दा खेत रोपाईँ गर्न नपाएका किसानहरु पछिल्ला केही दिनदेखि पिउँने पानी समेत नपाएर छटपटाइरहेका छन् ।
केही मन्त्री र तराई केन्द्रित नेताहरु समेत लिएर पुगेका ओलीले पुलदेखि प्रसुतीगृहको उद्घाटनमा व्यस्त भए । साथै आफूले तराईको समस्या समाधान गर्ने बचन दिए । तर निरन्तर चुरे दोहन र त्यसले तराईका जलवायु परिवर्तनमा खेलेको भूमिकाबारे वर्षौैँदेखि बहस हुँदै आइरहेको थियो । विज्ञहरुले तराई मरुभूमीमा परिणत हुने चेतावनी समेत पटकपटक दिँदा समेत कुनै चासो नदेखाएका प्रधानमन्त्री ओलीले डिप बोरिङ खन्ने आश्वासन दिए, तर त्यो कहिले पूरा हुन्छ भन्ने पत्तो भने छैन ।

तराई ओर्लिएका ओलीले सुरुमा महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन गरे ।
त्यसपछि पुनः महोत्तरीकै अर्को भवन उद्घाटन गर्न पुगे । ओलीले महोत्तरीको मटिहानी नगरपालिका वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन गरे ।
ओलीले पुनः महोत्तरीकै अर्को पुल उद्घाटन गर्न पुगेका थिए । ओलीले महोत्तरीको जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गरे ।
त्यसपछि पुनः खडेरीका कारण संकटग्रस्त क्षेत्रको घोषणा गरिएको बारा पुगे । जहाँ प्रधानमन्त्री अवलोकन भन्दा पनि उद्घाटनका लागि पुगेका थिए । ओलीले बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सम्बोधन समेत गरे ।

महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सरकार टिकाउने चिन्ता व्यक्त गरे । उनले वर्तमान सरकार आगामी ०८४ को निर्वाचनसम्म पुग्ने दाबी गरेका थिए ।
‘अहिलेको सरकार नेकपा एमाले र नेपाली काँग्रेसको अगुवाईमा बनेको संयुक्त सरकार हो । जसमा लोसपा पनि सरकार छ, जसमा जनमत पनि सरकारमा छ । अरु पनि सरकारमा छन्,’ ओलीले भनेका थिए, ‘यो संयुक्त सरकार हो । सबै पार्टीको । जसको नेतृत्व नेकपा एमाले र नेपाली कांग्रेसले गरेको छ । यो समीकरण देश विकासको अठोट लिएको छ । मैले प्रधानमन्त्रीको हैसियतमा अरु एक वर्ष काम गर्नेछु । यो एक वर्षमा थुप्रै कुराहरुमा परिवर्तन ल्याउने अठोट लिएको छु । चुनावसम्म हामी विकास निर्माणमा अघि बढ्नेछौँ ।’

आफैँ नेतृत्वको मन्त्रिपरिषद् बैठकले सुख्खाग्रस्त घोषणा गरेको तराई मधेसमा तामझामका साथ प्रधानमन्त्रीको उद्घाटन चलेको थियो । साथै ठूलो संख्यामा मानिसहरुको उपस्थिति समेत रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया