भँगालबाट ‘भँगालो’ ल्याउने विद्याको संकेत– ‘म रोकिनेवाला छैन’

अहिले एमालेले विद्यादेवी भण्डारीका लागि च्यासलको ढोका बन्द जस्तै गरिदिएको छ । २ कार्यकाल राष्ट्रपति बनेर पुनः राजनीतिमा सक्रिय बन्ने भण्डारीको सपनामा थप संघर्ष थपिदिने निर्णय एमालेले गर्‍यो ।

एक वर्षअघि नै भइसकेको पार्टी सदस्यता नविकरण अहिले पेण्डिङमा भनियो । सक्रिय राजनीतिका लागि भण्डारी जतिजति खुल्दै गइन्, एमाले त्यतित्यति कठोर बन्दै गयो । अन्ततः एमालेले ‘पार्टीमा नआउनू, सम्मानित पदमा बसिसकेको मान्छे सम्मानित पदमै बस्नु’ भन्ने स्पष्ट सन्देश दिइसकेको छ ।

लामो समय काम गरेको पार्टीमा पुनः सहज रुपमा भित्रिन पाउने संकेत नपाएपछि नरम सुनिने भण्डारी अहिले गरम सुनिन् पुगेकी छन् ।

केही दिनअघि केही सञ्चारकर्मीहरुलाई बूढानिलकण्ठको भँगालस्थित आफ्नै निवासमा बोलाएर केही सन्देशहरु बाहिर ल्याइन् ।

‘माझ किरातकी छोरी हुँ, खुट्टा कमाउँदिन्’ भन्दै भँगालबाट पत्रकारमार्फत् सन्देश जारी गरेको केही घण्टामै एमालेले च्यासलमा आउने बाटो सहज नरहेको भनिदियो ।

थोरै सञ्चारमाध्यममार्फत दिएको सन्देशबाट एमालेले ‘टेर पुच्छर’ नलगाएपछि शुक्रबार पत्रकार सम्मेलन नै गरेर आफू अघि बढिसकेको सन्देश दिइन् । साथै आफू राजनीतिक लाभका लागि नभइ जनताको सेवाका लागि राजनीतिमा आएको खुलाइन् ।

तर यसअघि आफू एमालेको भावी नेतृत्वको रुपमा अघि बढेको बताउँदै आए पनि शुक्रबार भने आफूमा कुनै पदको आशक्ति नरहेको दाबी गरिन् ।

‘कुनै पदप्रति लालसा, आशक्ति ममा छैन । किनकी मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर मैले इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको छु,’ भण्डारीले भनिन्, ‘मेरो उदेश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सवल, सुदृढ र एकतावद्ध बनाउने र राजनीतिमा आएर देश र जनताको सेवा गर्ने हो ।’

तर एक वर्षअघि नै विधिवत रुपमा पार्टी सदस्यता नविकरण गरिसकेकी भण्डारीको सदस्यता पेण्डिङमा राख्ने एमालेको निर्णयप्रति भने कडा सुनिइन् ।

एमालेले आफ्नो मौलिक हक नै खोसेर राजनीतिक रुपमा सकिय हुने अधिकारबाट नै बञ्चित गरेको भन्दै भण्डारी नरमबाट कडा सुनिइन्, ‘संविधानका विभिन्न धारा, मर्म र भावना कहीँ कतैबाट पनि म दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन । …राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन वा नियन्त्रण हुने गरी गरिएका अपरिपक्क निर्णयले मलाई दुखी तुल्याएको छ । यस प्रकारका निर्णयले पार्टीको साख र प्रतिष्ठालाई गिराउनेछ ।’

साथै उनले एमालेले आफूप्रति गरेको निर्णय आवेग र उत्तेजनामा आएर गरेको भन्दै सत्य प्रभावित नहुने उनको तर्क थियो ।

उनले आफू एमालेको सदस्य भएकै ४५ वर्ष पुगिसकेको भन्दै आफूलाई रोक्ने शक्ति र सामथ्र्य नरहेको चुनौती दिइन् ।

‘म राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको थियो । अहिले पार्टी सदस्य भएको ४५ वर्ष बितिसकेको छ । पार्टीप्रतिको आस्था, विचार, शिद्धान्त र निष्ठाप्रति प्रतिबद्ध हुँदाहुँदै मलाई पार्टी सदस्यबाट बञ्चित गर्न कदापी पनि मिल्दैन,’ उनले भनिन् ।

एकातिर आफू पुनः राजनीतिमा सक्रिय हुने संकल्प, अर्कोतिर एमालेले नैतिकताको प्रश्न खडा गरेर गरिदिएको पर्खाल ।

त्यसलाई नाघेर अघि जानुपर्ने मोडमा आइपुगेकी भण्डारीले आफू आफ्नो निर्णयबाट पछि हट्ने र एमालेको निर्णयबाट बिचलित हुने अवस्थामा नरहेको दोहोर्याइन् ।

‘आफ्नो निर्णयबाट म बिचलित हुने छैन,’ भण्डारीले आफ्नो दृढता दोहोर्याउँदै भनिन् । बुहप्रतीक्षित रुपमा रहेको भण्डारीको पत्रकार सम्मेलनमा केही नयाँ आउने आम अपेक्षा थियो । तर उनले एमालेका तत्कालिन महासचिव समेत रहेका पति मदन भण्डारीको सपना पुरा गर्ने अठोट गरिन् । तर राजनीतिमा विद्यादेवी भण्डारी किन ? भन्ने प्रश्नको जवाफ भने दिइनन् ।

केही दिनअघि पहिलोपटक च्यासलको पार्टी कार्यालयमा पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भण्डारीको वार्ता भएको थियो ।

भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिन ओलीले भण्डारीलाई पूर्वराष्ट्रपतिकै हैसियतमा औपचारिक रुपमा सरकारी निवास बालुवाटारमा निम्ता दिए । तर सक्रिय राजनीतिमा आइसकेकी भण्डारीले पार्टी नेताकै हैसियतमा आफूलाई उभ्याउन च्यासल रोजिन् । त्यहाँका विषयहरु खासै बाहिर आएका छैनन्, तर झण्डै २ घण्टा वार्तापछि बाहिरिने क्रममा दुवैको ओठमा मुस्कान थियो । जसले केही सकारात्मक संकेत हुनसक्छ भन्ने आँकलन आम रुपमा थियो । त्यहाँ पनि आफूले आफ्नो पार्टी सदस्यता नविकरणको विषयमा अप्ठेरो नपार्न भण्डारीले आग्रह त गरिन् तर त्यसकै भोलिपल्टै एमालेले सदस्यता पेण्डिङमा राखेको सुनाइदियो । पार्टीमा सक्रिय हुने मुल ढोका यानेकी पार्टी सदस्य नै नबाएपछि संसय पैदा भएपछि भण्डारीले शुक्रबारको पत्रकार सम्मेलनमा उनै मदन भण्डारीलाई सम्झिइन्, जसले उनलाई पार्टी सदस्यता दिँदै सपथ खुवाएका थिए ।

‘मैले विराटनगरमा पार्टी सदस्यता लिएको हो । जननेता मदन भण्डारी त्यतिखेर कोशी सगरमाथाको ईन्चार्ज हुनुहुन्थ्यो उहाँले सपथ खुवाउनुभएको हो । अब अहिले कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता कसैले खान सक्छ जस्तो लाग्दैन,’ भण्डारी अलि कडै रुपमा प्रस्तुत भइन् ।

विद्याको सक्रियताले तरंगित बनेको एमालेले पार्टी सदस्यता रोकेर भण्डारीलाई गलाउने रणनीति लिएको छ । तर ०७९ फागुन २९ गते राष्ट्रपतिबाट बिदा भएर हिँडेपछि सक्रिय राजनीतिका लागि योजना बुनिरहेकी भण्डारीले आफूले केही पाइला सारिसकेको जनाउ दिइसकेकी छन् ।

यसबिचमा पनि भँगालस्थित आफ्नो निवासमा धेरै नेता कार्यकर्ताहरुसँग भण्डारीले भेटिसकेकी र अहिले पनि भेटवार्ता जारी नै छ । तर पार्टी सदस्यता नै नदिएर पार्टी नेताको हैसियतमा च्यासल जाने अधिकारबाट एमालेले बञ्चित गरिदिएको छ ।

जसकारण भण्डारीका दिनहरु धेरै भँगालमै नयाँ रणनीति बनाउँदै बित्नेछन् । ४५ वर्ष बिताएको पार्टीले सहज रुपमा प्रवेश नदिने संकेतपछि खुट्टा नकमाउने भन्दै एमाले पंक्तिलाई चुनौती दिएकी भण्डारीको भँगाल निवासबाट बनेको रणनीतिले एमालेको राजनीतिमा भँगालो ल्याउनेछ वा आफैँ गल्नेछिन् त्यो भने हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?