काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको जिम्मेवारी पूरा गरेपछि राजनीतिक दलमा आबद्ध भई देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो वा आश्चर्य मान्नुपर्ने विषय नरहेको स्पष्ट पारेकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफू सधैँ राजनीतिक पृष्ठभूमिबाट आएको र राष्ट्रपतिमा निर्वाचित हुनु पनि त्यसैको निरन्तरता भएको बताइन् ।
‘म एक राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको हुँ,‘भण्डारीले भनिन्, ‘राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा पुनः सक्रिय हुनु मेरो संवैधानिक अधिकार हो ।’
पूर्व राष्ट्रपतिले आफूमा कुनै पदप्रति लालसा, महत्वाकांक्षा वा आशक्ति नरहेको समेत बताउँदै पार्टीको सदस्य भई दललाई सबल र एकताबद्ध बनाउने लक्ष्य लिएको बताइन् ।
उनले भनिन्, ‘मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकी छु। अब बाँकी जीवन राजनीतिमा लगाएर देश र जनताको सेवामा समर्पित हुने निर्णयमा पुगेकी छु।’
संविधानले राजनीतिक आस्था राख्ने र दलमा आबद्ध हुने अधिकार मौलिक हकको रूपमा प्रत्याभूत गरेको उल्लेख गर्दै, संविधान, ऐन तथा कानुनले आफूलाई राजनीतिमा संलग्न हुन रोक्न नसक्ने प्रष्ट पारिन् ।
उनले हालै आफूलाई पार्टी सदस्यताबाट रोक्ने प्रयासप्रति दुःख व्यक्त गर्दै यस्ता निर्णय आवेग र उत्तेजनाका भरमा गरिएको बताइन् ।
‘यस्ता अपरिपक्व निर्णयले सत्यलाई अस्थायी रूपमा ढाक्न सक्छ, तर सधैँको लागि होइन,‘भण्डारीको भनाइ थियो। ‘वृहत् छलफल र विवेकसम्मत निर्णय जरुरी छ, नत्र पार्टीको साख र लोकतान्त्रिक मान्यतालाई क्षति पुग्छ।’
पूर्व राष्ट्रपति भण्डारीले जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मूल्य–मान्यता अनुसार चल्नुपर्नेमा जोड दिँदै वैज्ञानिक जनवादी केन्द्रियताको सिद्धान्तविपरीत भएको कुनै निर्णय वैध हुन नसक्ने टिप्पणी गरिन् ।
उनको स्पष्टोक्ति पछिल्लो समय नेकपा एमालेमा सक्रिय सदस्यता पुनः लिने उनको तयारीलाई लिएर उठेका प्रश्नहरूको सन्दर्भमा आएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया