काठमाडौं । व्यक्ति अनुसार छाला फरक फरक किसिमको हुन्छ । जसकारण व्यक्तिअनुसार छालाको हेरचाहको विधि समेत फरकफरक हुने गर्दछ । किसिम अनुसार छालाको हेरचाह गर्ने सकेमा मात्र छालाको सुन्दरता कायम राख्दै स्वस्थ बनाउन सकिन्छ । अन्यथा समय अगावै छालामा विभिन्न प्रकारका समस्याहरु देखा पर्न थाल्छन् ।
यसको लागि आफ्नो छालाको किसिम कस्तो हो भनेर थाहा पाउनु निकै आवश्यक हुन्छ ।
कसरी थाहा पाउने छालाको किसिम ?
सुख्खा छाला (ड्राई स्कीन)
यदि तपाईंको छाला सुख्खा छ भने तपाईंको छाला फिक्का र फुस्रो देखिनेछ । यस्तो स्कीन भएका व्यक्तिको आँखा र मुखको वरिपरि मसिना रेखाहरू देखिने समस्या हुनसक्छ ।
मौसममा भएको आर्द्रता र तापक्रमको घटबढले सुख्खा छालालाई निर्जलित बनाउँछ । यस्तो छाला भएका व्यक्तिमा मौसममा आएको परिवर्तनले छाला टुक्राटुक्रा हुने वा फाट्ने जस्ता समस्याहरु देखा पर्न थाल्छन् । यसको साथै छाला चिलाउने, तानिने र असहज महसुस हुने पनि गर्छ ।
तैलीय छाला (ओइली स्कीन)
यदि तपाईंको छाला चम्किलो, अत्यधिक तैलीय र खुला छिद्रहरू भएको देखिन्छ भने तपाईंको स्कीन ओइली स्कीन हो । यस्तो खालको छालामा अत्यधिक तेल आउने भएकाले छालामा पिम्पल र ब्ल्याकहेड्सको जस्तो समस्या देखिन थाल्छन् । यस्तो छालालाई प्रदूषण र वातावरणीय कारकहरूले निकै प्रभाव पार्ने गर्छ । जसका कारण पिम्पलहरूलाई अझ बढाउँछन् । गर्मीका दिनहरुमा यस्तो छाला चिल्लो र चिपचिप देखिने गर्छ ।
मिश्रित छाला (कम्बिनेशन स्कीन)
यदि तपाईंले अनुहारका केही भाग तैलीय र केही भाग सुख्खा हुने गर्छ भने तपाईंको स्कीन कम्बीनेशन स्कीन हो । यस्तो छाला प्रायः ‘T-zone’ अर्थात् निधार, नाक र ठुडी तर्फ चिल्लो हुने र गालातर्फ सुख्खा हुने देखिन्छ । मौसम अनुसार यस्तो छालामा हुने परिवर्तनले गर्दा यसको हेरचाह गर्न धेरैलाई कठिन हुन्छ ।
हामीले माथि नै छालाको किसिम अनुसार त्यसको हेरचाह गर्ने विधि समेत फरक हुन्छ भनेर चर्चा गरिसकेका छौँ । साथै गर्मी मौसममा छालालाई अझै धेरै केयर गर्नुपर्दछ ।
यस्तो छ गर्मी मौसममा छालाको हेरचाह गर्ने तरिका
गर्मी मौसममा सुख्खा छालामा झन धेरै सुख्खापन देखिने गर्छ । जसले गर्दा फुस्रोपन र चाउरीको समस्या देखा पर्ने गर्दछ । यस्तो छाला भएका व्यक्तिहरूले यो मौसममा अझ बढी सजकता अपनाउनुपर्छ, किनभने तातो तापक्रम र स्वस्थ हावाले छालाबाट प्राकृतिक ओसिलोपन हटाउन सक्छ ।
सुक्खा छाला डिहाइड्रेशन हुन जान्छ । यसले गर्दा फाइनलाइन र चाउरीहरू छिटो देखिन थाल्छन्, जसले समयभन्दा पहिले बुढ्यौलीको संकेत दिन सक्छ । यस्तो अवस्थामा तातो पानीको प्रयोग नगर्ने, नरम फोमयुक्त फेसवास प्रयोग गर्नुपर्छ । साथै नियमित हाइड्रेटिङ फेसमास्क प्रयोग गर्नाले पनि छाला नरम र चम्किलो बनाउन सकिन्छ ।
गर्मीयाममा ओइली स्कीन चम्किलो देखिने तर अत्यधिक तेल निस्कने गर्छ । यस्तो छालाको हेरचाह गर्ने निकै गाह्रो हुन्छ । यसको लागि उचित छाला हेरचाह गर्नु आवश्यक देखिन्छ ।
यसका लागि हल्का र तेल–रहित उत्पादनहरू छनौट गर्नुपर्छ । जस्तै नीम र तुलसी तत्त्व भएको कोमल क्लिन्जरले छालाका गहिरा छिद्र सफा गर्न मद्दत पुर्याउँछ । अर्को भनेको गुलाब जलयुक्त फेस वास वा स्कीन टोनरले तेलको उत्पादन सन्तुलनमा राख्छ ।
संयोजन छाला मौसम अनुसार परिवर्तन हुने गर्छ । जसले गर्दा यो एकै समयमा कहिले तैलीय र कहिले सुख्खा हुने गर्छ । जसले गर्दा यस्तो छालालाई हेरचाह गर्न निकै गाह्रो हुन्छ । किनभने यस्तो छालामा एकै समय दुई प्रकारको समस्या देखापर्छ । त्यस्तो छालाको लागि साबुन रहित कोमल क्लिन्जर प्रयोग गर्दा राम्रो हुन्छ । यसले छालालाई सफा गर्नुको साथै आवश्यकता अनुसार ओसिलोपन पनि राख्न पनि मद्दत गर्छ । हल्का तथा तेल रहितको मोइस्चराइजर प्रयोग गर्नु उपयुक्त हुन्छ जसले छालालाई ताजा र सन्तुलित राख्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया