संविधान यथार्थपरक संशोधन हुनुपर्छ : सांसद सिटौला

लोकपथ
105
Shares

काठमाडौं ।  नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले संविधानलाई यथार्थपरक ढंगले संशोधन गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सांसद सिटौलाले संविधान कार्यान्वयनको समग्र मूल्यांकन गरी जनताको हितअनुसार संशोधन आवश्यक रहेको बताए । 

उनले भने, ‘जनताको चाहना संविधानले सम्बोधन गर्न सक्नुपर्छ। संविधान कार्यान्वयनको समीक्षा गरौँ र आवश्यक भए संशोधन गरौँ ।’

सांसद सिटौलाका अनुसार संसद्ले बनाएका विधेयक, संवैधानिक निकायको कामकाज, सरकारका तीन वटै तहले लिएका जिम्मेवारीहरूको मूल्यांकन गरी संविधानमा बाधक देखिएको खण्डमा संशोधन गर्न कांग्रेस र वर्तमान सरकार तयार छन् ।

उनले संविधान कार्यान्वयनको समीक्षा गर्ने र आवश्यकता अनुसार संशोधन गर्ने नीति तथा कार्यक्रम सरकार र कांग्रेस दुवैले अघि सारेको स्पष्ट पारे ।

कार्यक्रममा सांसद सिटौलाले मधेस प्रदेश सुख्खाग्रस्त अवस्थामा रहेकोप्रति चिन्ता व्यक्त गर्दै जनताको हितमा तत्काल प्रभावकारी कदम चाल्न सरकारलाई आग्रह गरे । उनले मधेसको समस्या समाधानका लागि संघीय सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।

सांसद सिटौलाको भनाइले संविधान संशोधन र कार्यान्वयनसम्बन्धी बहसलाई पुनः सक्रिय बनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?