महोत्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको अभाव समाधान गर्न तत्काल ५०० वटा ‘डिप बोरिङ’ जडान गरिने घोषणा गरेका छन् ।
महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमाथिको पुल र वडा नं ६ मा निर्मित प्रसूति गृहको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेसमा सिँचाइ र खानेपानीको समस्या गम्भीर भएकाले तत्काल प्रभावकारी कदम चालिने स्पष्ट पारे ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीले हवाई यात्राका क्रममा देखिएको सुक्खा जमिनको अवस्थालाई स्मरण गर्दै मधेस प्रदेशका आठवटै जिल्लामा पानीको अभाव हटाउन सम्बन्धित सरोकारवालासँग समन्वय गरी यथाशक्य छिटो समाधानका लागि सरकार गम्भीर रहेको बताए ।
‘पूर्वी मधेसको सप्तरी जिल्लामा कोशी नदीको पहुँचका कारण तुलनात्मक रुपमा समस्या कम छ,‘प्रधानमन्त्रीले भने, ‘तर बाँकी सातवटा जिल्लामा पानीको गम्भीर समस्या छ, जसलाई समाधान गर्न सरकार जुटिसकेको छ ।
प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको स्मरण गराउँदै यहाँका किसान र जनताका लागि विशेष कार्यक्रम ल्याइने पनि प्रतिबद्धता व्यक्त गरे । खानेपानी र सिँचाइको समस्या दीर्घकालीन समाधानतर्फ उन्मुख गर्न सरकार दृढ भएको उनको भनाइ थियो ।
सरकारको यो घोषणासँगै मधेसमा दशकौँदेखि रहँदै आएको खानेपानी र सिँचाइको समस्यामा केही राहतको आशा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया