खानेपानी, सिँचाइ बिना मधेस मरुभूमिमा रूपान्तरण हुँदैछ : जनार्दन शर्मा

लोकपथ
133
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले मधेस क्षेत्रमा दशकौँदेखि अलपत्र पारिएका खानेपानी आयोजनाका कारण मरुभूमिकरणको खतरा बढ्दै गएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले मधेसमा खानेपानी, सिँचाइ तथा मल आपूर्तिको व्यवस्थापन तुरुन्त गर्नुपर्ने माग गरे । उनले करिब तीन दशकदेखि सुरु भएका खानेपानी आयोजनाहरू अधुरै रहेको उल्लेख गर्दै त्यसको असर स्थानीय जनजीवनमा देखिन थालेको बताए । ‘पानीको हाहाकार बढेको छ, चुरेको विनाशका कारण संकट गहिरिँदै छ, ‘शर्माले भने, ‘वैज्ञानिकहरू भन्छन्, केही वर्षभित्र मधेस मरुभूमि बन्ने सम्भावना छ।’

सांसद शर्माले बोरिङमार्फत पानी तानेका किसानलाई विद्युत् महशुल सरकारले व्यहोर्नुपर्ने माग गरे । उनले मल आपूर्तिमा भइरहेको अवरोधप्रति पनि असन्तुष्टि जनाउँदै सीमा नाकाबाट मल ल्याउन अनुमति दिनुपर्ने बताए । ‘किसानलाई न पानी छ, न मल, न सिँचाइको सुविधा – यस्तो अवस्थामा कसरी कृषि उत्पादन बढाउने ?,‘ शर्माको प्रश्न थियो।

उनले चुरे क्षेत्रको विनाशले मधेसमा पर्यावरणीय संकट निम्त्याएको भन्दै चुरे संरक्षणमा सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।

शर्माले सरकारलाई कृषिप्रति संवेदनशीलता देखाउन आग्रह गर्दै भने, ‘मधेसवासी अझै पनि आधारभूत सुविधाको प्रतीक्षामा छन्, यो अवस्था तुरुन्त अन्त्य गरिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?