के कांग्रेसले मन्त्री फेर्न लागेको हो ?

लोकपथ
427
Shares

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसले आगामी कार्तिक १७ गते हुने रुपन्देही–३ को उपनिर्वाचनलाई लिएर रणनीतिक छलफल गरेको छ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार बसेको पदाधिकारी, पूर्वपदाधिकारी तथा पार्टीका मन्त्रीहरूको बैठकले निर्वाचनलाई लिएर रणनीति र योजनाका विषयमा विस्तृत छलफल गरेको हो ।

बैठकपछि प्रमुख सचेतक श्यामकुमार घिमिरेले बैठकमा रुपन्देही–३ को उपनिर्वाचनबारे केन्द्रित छलफल भएको जनाए । उनले भने, ‘रुपन्देहीको निर्वाचनका विषयमा छलफल गरेका छौं, मुख्यरुपमा आगामी उपनिर्वाचनमा हाम्रो रणनीति र योजनाबारे कुरा भएको हो ।’

उनका अनुसार बैठकमा मन्त्री हेरफेरको विषयले भने प्रवेश पाएको छैन । रुपन्देही–३ बाट गत प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहरा निर्वाचित भएका थिए । उनको निधनपछि प्रतिनिधिसभा सदस्य पद रिक्त भएको हो ।

प्रमुख सचेतक घिमिरेका अनुसार उम्मेदवार चयनसम्बन्धी विषयमा भने बैठकमा कुनै निर्णय भएको छैन ।

०७९ सालको निर्वाचनमा समानुपातिक मतका आधारमा कांग्रेस २० हजार मतसहित पहिलो, एमाले १६ हजार मतसहित दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १४ हजार मतसहित तेस्रो स्थानमा थियो । त्यसपछाडि मधेस केन्द्रित दलहरूको मत हिस्सेदारी थियो ।

‘०७९ को निर्वाचनमा गठबन्धनबीच प्रतिस्पर्धा भयो। यद्यपि समानुपातिक मतअनुसार कांग्रेस बलियो अवस्थामा रहेको देखिन्छ। हामी प्राविधिकरुपमा चुनाव हारेका हौँ, तर जनमतको हैसियतमा हामी बलियो छौं,‘ घिमिरेले भने।

उनले अहिले मधेस केन्द्रित दलहरू एकताबद्ध भएर निर्वाचनमा होमिने चर्चा रहेको समेत बताए । कांग्रेस उपनिर्वाचनमा अग्रणी भूमिकामा देखिने विश्वास व्यक्त गर्दै उनले गठबन्धन, रणनीति र मत गणनाको विश्लेषणका आधारमा उम्मेदवार चयनको प्रक्रिया अघि बढाइने संकेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?