चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्ष २०८०/८१ मा निकुञ्जसम्बन्धी विभिन्न अपराधमा संलग्न ४४२ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।
पक्राउ परेका मध्ये दुई सय ६६ जना वनसम्बन्धी र एक सय ७६ जना वन्यजन्तुसम्बन्धी अपराधमा संलग्न रहेको निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरले जानकारी दिए ।
गैँडासम्बन्धी मुद्दामा ८, बाघमा १, बँदेलमा २६, सालकमा ५, चितुवामा ५, हिउँचितुवा मुद्दामा २ जना पक्राउ परेका छन् । यस्तै, माछा चोरीसिकारमा १२६ जना, पन्क्षीमा ३, ढुङ्गा–गिट्टी–बालुवा संकलनमा ५, घाँसदाउरामा १४१ र निगुरो संकलनमा ८७ जनालाई पक्राउ गरिएको छ ।
अनुमति विना निकुञ्जभित्र प्रवेश गर्ने २३ जना, निषेधित क्षेत्रमा प्रवेश गर्ने ६ जना र च्याउ संकलनका कारण ४ जनालाई समेत नियन्त्रणमा लिइएको थियो ।
निकुञ्जले पक्राउ परेका विरुद्ध २६ वटा मुद्दा दर्ता गरेको छ । तीमध्ये ४ वटा जिल्ला अदालतमा दर्ता गरिएका छन् भने बाँकी निकुञ्ज कार्यालयमै दर्ता छन् । अदालतमा पेस गरिएका मुद्दामा गैँडा, सालक र बाघसम्बन्धी अपराध परेका छन् ।
थापा मगरका अनुसार गत आर्थिक वर्षमा निकुञ्जले दर्ता गरेका मुद्दामध्ये १४ वटामा फैसला भइसकेको छ । साथै अघिल्लो वर्षबाट जिम्मेवारी सरेका २७ वटा मुद्दासहित चालु आर्थिक वर्षका लागि २६ वटा नयाँ मुद्दा थपिएका छन् ।
निकुञ्जले पछिल्लो समय वन्यजन्तु संरक्षण तथा स्रोत व्यवस्थापनमा निगरानी बढाएको छ । अधिकारीहरूका अनुसार संरक्षणमा नागरिक सचेतना अभिवृद्धि गर्दै प्राविधिक निगरानीलाई समेत प्रभावकारी बनाउने तयारी भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया