मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छ : अध्यक्ष ढकाल

लोकपथ
70
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले राजनीतिक दलहरूको मुख्य एजेण्डा रोजगारी सिर्जना र राजश्व वृद्धि हुनुपर्ने बताएका छन् ।

नेपाल खबरले आफ्नो १०औँ वर्ष प्रवेशको अवसरमा आयोजना गरेको ‘राइजिङ नेपाल समिट २०२५’ मा बोल्दै अध्यक्ष ढकालले ‘मिसन ०८४’ नाम दिइएको राजनीतिक दलहरूको अभियान आर्थिक विकास केन्द्रित हुनु आवश्यक रहेको धारणा राखे ।

‘अहिलेको अवस्थामा राजनीतिक दलहरूले एक अर्कालाई दोषारोपण गरेर मत बटुल्ने भन्दा पनि पूर्वाधार निर्माण, रोजगारी सिर्जना, र लगानी प्रवर्द्धनमा प्राथमिकता दिनु आवश्यक छ,‘अध्यक्ष ढकालले भने।

उनले निजी क्षेत्रको तर्फबाट सशक्त आर्थिक एजेण्डा अघि सार्नुपर्ने आवश्यकता औँल्याउँदै भने, ‘रोजगारी, राजश्व र व्यावसायिक गतिविधि वृद्धि गर्ने एजेण्डा नै आज आम नेपालीको प्राथमिकता हो। राजनीतिक प्रतिस्पर्धा सकारात्मक एजेण्डा आधारित हुनुपर्छ।’

अध्यक्ष ढकालले देशभित्र हरेक नागरिक रोजगारीको खोजीमा रहेको उल्लेख गर्दै दिगो आर्थिक समृद्धिका लागि सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?