बाजुरा दुर्घटना अपडेट : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत उद्धार

लोकपथ
203
Shares

काठमाडौं । बाजुराको हिमाली गाउँपालिकामा आज बिहान जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये गम्भीर अवस्थाका १३ जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हिमाली गाउँपालिका–५ क्युडीबाट वडा कार्यालय कवाडीतर्फ आउँदै गरेको बा.प.०३–००१ ज ०३३८ नम्बरको जिप क्षमताभन्दा बढी यात्रु बोकेर कच्ची सडक हुँदै आउँदा अनियन्त्रित भई दुर्घटना भएको हो ।

प्रहरी निरीक्षक देवबहादुर चौधरीले दिएको जानकारीअनुसार ७६ वर्षीया विजौरा रोकाया र ७५ वर्षीया बाँचकला रोकायाको घटनास्थलमै मृत्यु भएको छ भने ३५ वर्षीया जुनेली रोकायाको उद्धारका क्रममा ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका २३ वर्षीय जिप चालक गौरी बुढा, ३५ वर्षीय बाँचलाल रोकाया, ७० वर्षीया भदौरी रोकाया, २२ वर्षीय बाँचधन रोकाया, ४५ वर्षीय वीरबहादुर रोकायालगायतका यात्रुलाई नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी पटक–पटक गरी उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शितलबहादुर रावलले जानकारी दिए ।

हिमाली गाउँपालिकाले दुर्घटनापछि घाइतेहरूको उद्धार तथा तत्काल उपचारका लागि एम्बुलेन्स र स्वास्थ्यकर्मीसमेत परिचालन गरेको जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?