काठमाडौं । शहीद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत सञ्चालन हुँदै आएको १५ वर्षमुनिका बालबालिकाका लागि निःशुल्क मुटुरोग उपचार सेवा रोकिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले यो सेवा रोकिएकोप्रति चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सिंहले सरकारले उपचार खर्चको भुक्तानी नगरेकै कारण केन्द्रले सेवा स्थगित गरेको बताएका हुन् । सरकारले विपन्न परिवारका बालबालिकाका लागि हृदयसम्बन्धी उपचारमा प्रति बालक २ लाख ५० हजार रुपैयाँसम्मको सहायता अनुदान दिने निर्णय गरे पनि गत आर्थिक वर्षको रकम हालसम्म नआएको गुनासो उनले सार्वजनिक गरे ।
‘विपन्न वर्गका बालबालिकाका लागि यो सेवा जीवन रक्षाको एक माध्यम हो,ू सिंहले भने,‘भुक्तानी नपाएको कारणले सेवा नै रोक्नु अत्यन्त दुःखद छ । यो तुरुन्त सुचारु हुनुपर्छ ।’ उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रीको समेत यस विषयमा ध्यानाकर्षण गराएका छन् ।
साथै सांसद सिंहले पछिल्लो समय चर्किएको भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म राप्रपाले संसद बहिस्कार गर्ने पनि घोषणा गरे ।
सांसद सिंहको मागअनुसार सरकार तत्काल सक्रिय भएर गङ्गालालमा पुनः निःशुल्क सेवा सुचारु गर्न र भ्रष्टाचार वा अनियमितता सम्बन्धी मुद्दामा पारदर्शी अनुसन्धान प्रक्रिया अघि बढाउन दबाव बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया