काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुरको भैंसेपाटीस्थित सैवु आवास क्षेत्रमा निर्माणाधीन मन्त्री क्वार्टरको पश्चिमतर्फ ११ मिटरको सडक सुनिश्चित गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा रास्वपा सांसद डा.तोसिमा कार्कीले स्थानीय बासिन्दाले लामो समयदेखि माग गर्दै आएको सडकलाई सरकारले बेवास्ता गर्दै जबरजस्ती बाउन्ड्री वाल निर्माण गर्न खोजेको आरोप लगाइन् ।
‘ललितपुरको भैंसेपाटीमा तीनतिर जस्तै पश्चिमतर्फ पनि ११ मिटर सडक सुनिश्चित गर्नुपर्छ भनेर स्थानीयवासी वर्षौँदेखि संघर्षरत छन्,‘सांसद कार्कीले भनिन्, ‘तर हिजो २०० जना सशस्त्र प्रहरी उभ्याएर साँघुरो सडकमै बाउन्ड्री वाल बनाउन खोजियो ।’
उनले मन्त्री आवास क्षेत्रका लागि जनताको जमिन अधिग्रहण गरेर क्वार्टर बनाइएको भन्दै अब फेरि ठूलो आँगन बनाउने नाममा जनताको बाटो खोस्न खोजिएको बताइन् ।
‘मन्त्री क्वार्टरको आँगन ठूलो बनाउँदैमा केही फरक पर्दैन, तर त्यो सडक नपाउँदा नागरिकको हक संकुचित हुन्छ,‘कार्कीले भनिन्, ‘सरकार दमनकारी शैलीमा अघि बढिरहेको छ।’
उनले जनआकांक्षाविपरीतको कार्यशैलीले व्यवस्थामाथि नै खतरा उत्पन्न गराएको टिप्पणी गर्दै सरकारले संसद्लाई कठपुतलीजस्तै सञ्चालन गरिरहेको आरोपसमेत लगाइन् ।
कार्कीका अनुसार स्थानीयवासी दुई महिनादेखि निरन्तर आन्दोलनमा छन्, तर सरकार जनताको आवाज सुन्ने पक्षमा देखिएको छैन ।
उनले सरकारले जनताको अधिकार सुनिश्चित गर्नुपर्नेमा बल दिँदै पश्चिमतर्फको ११ मिटर सडक तत्काल सुनिश्चित गर्न माग गरिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया