काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मन्त्रालय सम्हालेको एक वर्षे कार्यकालमा दुर्गम क्षेत्रका १३२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार गरिएको बताएका छन् ।
बिहीबार सिंहदरबारमा मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री सुडीले विगत एक वर्षमा मन्त्रालयअन्तर्गत भएका प्रमुख उपलब्धिहरू प्रस्तुत गरे ।
उनका अनुसार हिंसा पीडित महिला तथा किशोरीहरूको दीर्घकालीन पुनर्स्थापना गर्न राष्ट्रियस्तरको मंगला सहाना केन्द्रमार्फत १८ जनालाई सेवा दिइएको छ । महिला हिंसाविरुद्ध सचेतना फैलाउने उद्देश्यले निर्माण गरिएको टेलिश्रृङ्खला ‘सोच’ नेपाल टेलिभिजनबाट प्रसारण भएको पनि जानकारी दिए ।
मधेस प्रदेशका पाँच जिल्लामा ‘खुलेर बोलौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ नारासहित सडक नाटक प्रदर्शन गरिएको उनले बताए । सातौँ महिला अधिकार दिवसको अवसरमा प्रत्येक प्रदेशबाट एक जना उत्कृष्ट महिला उद्यमीलाई एक लाख रुपैयाँसहित सम्मान गरिएको छ ।
पशुपति वृद्धाश्रममा ६८ जना ज्येष्ठ नागरिक पुरुष २४ र महिला ४४० लाई आवास, भरण पोषण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । त्यस्तै, १३३ जना कुष्ठरोग प्रभावितको लालन पालनका लागि नेपाल कुष्ठरोग निवारण संघलाई अनुदान दिइएको जानकारी पनि उनले दिए ।
अपाङ्गता भएका व्यक्तिहरूको लागि राष्ट्रिय नीति कार्यान्वयन कार्य योजनाको मस्यौदा तयार गरिएको उल्लेख गर्दै मन्त्री सुडीले ४० लाखको बजेटबाट २७२ थान सहायक सामग्री उत्पादन तथा वितरण गरिएको बताए ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) परियोजनाको सहजीकरण समितिको सिफारिसमा ५० वटा परियोजना सम्झौता र २८ वटा साधारण सम्झौतामा सहमति प्रदान गरिएको छ । त्यस्तै, विदेशी कर्मचारीका लागि ५२ कार्य सहमति, ५२ श्रम स्वीकृति, ४४ गैर पर्यटक भिसा, २२ आयात इजाजत र ३ भन्सार छुट सिफारिस गरिएको उनले जानकारी दिए ।
उनका अनुसार समाज कल्याण परिषद्मार्फत ६१ अर्ब ९७ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता स्वीकृत गरिएको छ ।
मन्त्री सुडीले प्रस्तुत गरेका यी उपलब्धिहरू मन्त्रालयको सामाजिक उत्तरदायित्व र सेवा प्रवाहको सशक्त उदाहरण भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया