काठमाडौं । वर्षको १२ महिनामध्ये साउन महिनालाई विशेष मानिन्छ । धार्मिक र सांस्कृतिक रूपमा समेत महत्त्वपूर्ण मानिएको साउन महिनालाई महिलाहरूले विशेष गरी मनाउँछन् । वर्षा ऋतुको सुरुवातको महिना साउनमा चारैतिर हरियाली छाउन सुरु गर्दछ ।
प्रकृतिले आफ्नो शरीरमा हरियालीको पहिरन लगाउँछ । प्रकृति र मानवबिचको गहिरो सम्बन्ध हुने भएकाले नै होला, यो महिनामा खास गरी महिलाहरूले आफ्नो पहिरनलाई हरियो बनाउँछन् । हरियालीको महिना साउनमा बजार पनि हरिया चुरापोतेदेखि कपडाहरुले भरिभराउ हुन्छ ।
विशेष गरी भगवान् शिवको आराधना, व्रत, उपवास र पूजापाठमार्फत यो महिनालाई अध्यात्म र समर्पणको रूपमा लिइन्छ । साथै, सामाजिक रूपमै यो महिना नेपाली चेलीहरूको संस्कृति, सौन्दर्य र परम्पराको समुचित प्रतिबिम्ब बनेको देखिन्छ ।
साउन लागेसँगै काठमाडौं लगायत देशका ठूलादेखि साना बजारहरूमा समेत चहलपहल सुरु भइसकेको छ । देशको संघीय राजधानी काठमाडौंको पनि मुटु मानिने न्यूरोड क्षेत्र यतिबेला विभिन्न पहिरनले हरियो बनेको छ । हरियो चुरा, पोते, मेहेन्दी, साडी र अन्य श्रृंगार सामग्री खरिदका लागि यस क्षेत्रमा भीड लागिरहेको छ ।
साउन लागेसँगै काठमाडौं लगायत देशका ठूलादेखि साना बजारहरूमा समेत चहलपहल सुरु भइसकेको छ । देशको संघीय राजधानी काठमाडौंको पनि मुटु मानिने न्यूरोड क्षेत्र यतिबेला पहिरनले हरियो बनेको छ
खासगरी बजारमा चहलपहल हुनका लागि देशको अर्थतन्त्र चलायमान हुनुपर्छ । कोरोना महामारीपछि अर्थतन्त्रमा आएको शिथिलतापछि भने हरेक चाडपर्वमा बजारमा तुलनात्मक रूपमा चहलपहल घटिरहेको छ । जसको असर अहिले साउने बजारमा समेत परेको देखिन्छ । साउन लागेसँगै बजारमा चहलपहल केही बढे पनि व्यापार खस्किएको गुनासो गर्छन् व्यापारी तथा व्यवसायीहरू । पहिलेको तुलनामा व्यापार खस्किएको गुनासो गर्छन् न्यूरोडमा व्यापार गर्दै आएका जयही रायमत । उनले भने, ‘पहिले साउन सुरु भएलगत्तै राम्रो व्यापार हुन्थ्यो, तर अहिले चहलपहल त छ तर व्यापार खस्किएको छ । धेरै मानिसहरू हेर्छन्, तर किन्नेहरू कम छन् ।’
नयाँ पहिरन लगाउन कसलाई मन हुँदैन र ? साउनमा हातमा मेहन्दी, चुरा, हरियो रङको पालिसदेखि हरियो कुर्ता सुरुवाल अनि साडीसम्म महिलाहरूको रोजाइमा पर्छ । धार्मिक कारणले पनि धेरै महिलाहरू शुद्ध हुनेदेखि पहिरनमा ध्यान दिँदै आइरहेका हुन्छन् ।
साउनकै लागि किनमेल गर्न न्यूरोडमा भेटिएकी सविता श्रेष्ठले भनिन्, ‘साउनमा हरियो चुरा, पोते र मेहेन्दी लगाउँदा आफ्नो बुढाको आयु बढ्छ भन्ने विश्वास छ । त्यसैले हरेक वर्ष साउन महिनामा यिनै सामग्री किन्न आउँछु ।’
साउन महिना विशेष गरी विवाहित महिलाहरूले विशेष महत्त्व दिने गर्दछन् । सविता मात्र होइन साउनका लागि किनमेल गर्न न्यूरोडमा भेटिइन् इमु श्रेष्ठ । साउनमा हरियो पहिरन थप राम्रो लाग्ने उनको बुझाइ छ । उनले भनिन्, ‘साउनमा हरियो पहिरन लगाउँदा आफूलाई राम्रो पनि लाग्छ, साथै यो हाम्रो परम्परा हो, जुन पुस्तौँदेखि चलिआएको छ ।’

साउन हिन्दु नारीहरूको आस्थासँग समेत जोडिएको महिना हो । यस महिनामा हरियो रङलाई समृद्धि, सौभाग्य र सौन्दर्यको प्रतीक मानिन्छ । यही कारणले महिलाहरू साउनभरि हरियो चुरा, पोते र साडीमा सजिन रुचाउँछन् ।
तर अर्थतन्त्रमा आएको शिथिलताका कारण त्यसको असर साउनको बजारमा परेको गुनासो गर्छिन् न्यूरोडमा चुरापोतेको व्यापार गर्दै आएकी बबिता गन्दर्भ पनि । उनी भन्छिन्, ‘असारको अन्त्यमा व्यापार भई सक्छ त्यसपछि व्यापार सामान्यतया सुस्त हुन्छ र यस वर्ष पनि त्यही परम्परा दोहोरिएको छ । अहिले चुरा किन्न आउने ग्राहकहरू कम भएका कारण पसलमा व्यापार निकै घटेको छ ।’
साउनका लागि महिलाहरूले हातमा विभिन्न डिजाइनका मेहेन्दी लगाइरहेका हुन्छन् । पहिले पहिले फुटपाथमा नै मेहेन्दी लगाइएको देखिन्थ्यो । तर पछिल्ला वर्षहरूमा काठमाडौं महानगरले बजारलाई व्यवस्थित गर्ने भन्दै बाटोबाटोमा मेहेन्दी लगाउन अनुमति नदिँदा समस्यामा परेका छन् मेहेन्दी डिजाइनर एवं व्यापारीहरू । जसकारण मेहेन्दी लगाउँदा हुने आम्दानी समेत घटेको बताउँछन् विश्वनाथ शाह ।
बजारका सबै पसलका व्यापार एकैनासको हुँदैन । यही सिजनमा पनि कोहीले राम्रै व्यापार गर्दा केही व्यापारीहरू भने व्यापार नै नभएर हैरान छन् । न्यूरोडमा पोतेको व्यापार गर्दै आइरहेका सुफियान तिमल्सिनाको गुनासो अन्य व्यापारीहरूको भन्दा फरक छ । पसलमा हेर्न आउनेहरू धेरै भए पनि किन्ने कम हुँदा कुनै दिन त बोहनी गर्न समेत गाह्रो परेको उनको गुनासो छ ।
‘साउनको सुरुमा केही चहलपहल त थियो,‘तिमल्सिना भन्छन्, ‘तर त्यसको व्यापारमा खासै असर देखिएन । महँगी, बेरोजगारी र ग्राहकको खर्च गर्ने क्षमतामा आएको गिरावटले गर्दा व्यापार नराम्ररी प्रभावित भएको हो ।’

त्यस्तै न्यूरोडकै अर्का व्यापारी मोहमल सुलेमान पनि यसपाली झनै व्यापार घटेको भन्दै चिन्तित देखिए । अन्य समयमा भन्दा साउनमा हरियो चुरापोते र मेहेन्दीहरू बढी बेचिन्छ, तर त्यही नबिकेपछि थप चिन्ता थपिएको छ मोहमल सुलेमानलाई । उनले भने, ‘यो पटक त व्यापार नहोलाजस्तो छ । अहिले थोरै मात्र व्यापार भइरहेको छ, त्यो पनि रेडिमेट पोतेमै सीमित देखिन्छ ।’
सुलेमाका अनुसार सजिलो, सस्तो र छिटो लगाउन मिल्ने भएकाले रेडिमेट पोतेको केही बिक्री भए पनि परम्परागत पोते, साडी र अन्य श्रृंगार सामग्रीहरूमा खासै व्यापार छैन ।
साउन महिना सांस्कृतिक र धार्मिक महत्त्व बोकेको भए पनि यसपालिको व्यापारिक अवस्था केही मन्द देखिएको छ । न्यूरोडमा आउने भीड र परम्परागत सामग्रीको माग अझै कायम भए पनि बिक्रीमा पूर्ण सुधार हुन सकेको छैन, जसले व्यापारीहरूलाई चिन्तित बनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया