भक्तपुरमा मृत भेटिएका दिदीबहिनी : टिकटक बनाउँदै गर्दा  ‘अफलाइन’ भएका थिए, फेसबुकबाट आफन्तलाई ‘ब्लक’

लोकपथ
20.1k
Shares

काठमाडौं । भक्तपुरको बोडेस्थित सिन्टिटारको दुई तले घरको भुईँ तलामा बस्दै आएका दिदीबहिनीले ‘आत्महत्या’पूर्व आफ्नै मोबाइलबाट आत्महत्या तयारीका विभिन्न चरणका फोटो खिचेर टिकटक बनाएको खुलेको छ । 

ती दिदीबहिनी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल आज बिहीबार बिहान ६ः४५ बजे मृत फेला परेका थिए । 

तर मृत्यु हुनुअघि उनीहरूले एउटै डोरीमा पासो लगाउँदै सेल्फीमोडमा फोटो खिचेका थिए । त्यो फोटोमा ‘मरेर गए नि नतोडिने बन्धन माया हो…’ भन्ने गीत राखेर टिकटक बनाएका थिए । त्यसपछि भने उनीहरू अफलाइन भएका थिए । 

प्रहरीले घटनास्थलबाट बरामद गरेको मोबाइलमा उक्त टिकटक भेटिएको थियो । 

मृतक दिदीबहिनी सुर्खेतको पञ्चपुरी नगरपालिका–८ का स्थानीयवासी भएको खुलिसकेको छ । उनीहरू भारतमा रहेका बाबु बालाराम (वासुदेव) कँडेल र आमा उमा कँडेलसँगै बस्दै आएका थिए । उनीहरू भारतबाट भागेर काठमाडौं आएको पाइएको छ । उनीहरू हराएपछि बाबुआमाले भारतमा विभिन्न मिडियाबाट मानिस हराएको सूचनासमेत गरेका थिए । 

मृतक दिदीबहिनीकी आमा उमा कँडेलले तीन साताअघि छोरीहरू मुम्बईको मिरा भाइन्दरबाट हराएको भन्दै स्थानीय सिगास टेलिभिजनलाई अन्तर्वार्तासमेत दिएकी थिइन् । उनले अन्तर्वार्ताका क्रममा छोरीहरू कम्प्युटर क्लास जान्छु भनेर घरबाट निस्किएको बताउँदै भनेकी थिइन्, ‘घरबाट कम्प्युटर कक्षा जान्छु भनेर निस्केका हुन् । कम्प्युटर कक्षाबाट घर आउने समय ७ बजे हो । ७ बजेसम्म हेर्‍यौँ । घर नआएपछि फोन गरेँ । तर, लागेन । कक्षामा भएको बेला फोन नलागेको होला भनेर भ्वाइस म्यासेज छोडेँ । नानीहरू घर आएर रोटी बनाउनु, खाना पकाउनु म काममा गएँ भनेर ।’

घरबाट निस्किएका उनीहरूले त्यसपछि एकपटक पनि बाबुआमालाई फोन सम्पर्क गरेनन् । आमाले जस्तै भ्वाइस मेसेज भने गरे । जसमा भनिएको थियो, ‘हामी यहाँ छैनौँ ।  बैंगलोर गयौँ । हामी पैसा कमाएपछि तपाईंलाई भेट्छौँ । त्यसभन्दा अगाडि भेट्न सक्दैनौँ ।’ त्यो मेसेज कान्छी छोरी सिर्जनाले गरेकी थिइन् ।

छोरीहरूको तर्फबाट यस्तो म्यासेज आएपछि बाबुआमा थप चिन्तित बने । त्यसपछि लागे खोजीतिर । आमा उमा कँडेल यही सिलसिलामा सिगास टेलिभिजन पुगेकी हुन् । 

त्यसपछि छोरीहरूले आफ्ना सबै लुगा, पैसा लगेको खुल्यो । यसले झन् उनीहरू बेचैन बने । खोजतलासकै क्रममा उनीहरू नेपाल गएको सूचना पनि बाबुआमाले पाए । 

उनीहरू भागेर काठमाडौं आएका छन् भन्ने कुरा बिहान मृत अवस्थामा फेला परेपछि मात्रै थाहा भएको उनीहरूका कान्छीआमाले प्रहरीलाई बताएकी छन् । उनीहरूको साथमा मोबाइल भए पनि कहाँ, कसरी बसेको भन्नेबारे परिवारलाई केही नभनेको उनको भनाइ छ ।

आत्महत्याअघि फेसबुकमा बुबाको भारतमा चल्ने मोबाइल नम्बर हालेको पनि खुलेको छ । त्यही आधारमा प्रहरीले उनीहरू मृत अवस्थामा फेला परेको खबर पहिला बुबालाई गरेको थियो । बुबा वासुदेवले कलंकीमा रहेकी आन्टीलाई तत्काल बोलाइदिन भनेका आधारमा उनी सम्पर्कमा आएकी हुन् ।

भारतमा भाग्नुअघि उनीहरूले फेसबुकबाट सबै आफन्तलाई ब्लक गरेको पनि पाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?