काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका लागि अब विमानस्थल बनाउनु नहुने बताएका छन् ।
बिहीबार बसेको संघीय संसद अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले राजनीतिक दबाबका आधारमा विमानस्थल थप्ने प्रवृत्तिले राष्ट्रलाई क्षति पुर्याउने बताए ।
नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ सम्बन्धमा सांसदहरूबिच छलफलका क्रममा उनले भने, ‘फेरि पनि नीति तथा कार्यक्रममा एयरपोर्ट थप्ने कुरा नै आइरहेको छ, मलाई त्यत्ति राम्रो र उचित लाग्दैन । यो फेसन हो । राजनीतिक दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति अब एयरपोर्ट बनाउनु हुँदैन । यसले राष्ट्रको ठूलो क्षति हुन्छ ।’
उनले हाल नेपालमा ५५ वटा विमानस्थलमध्ये ३२ वटा मात्र सञ्चालनमा रहेको उल्लेख गर्दै नयाँ विमानस्थलको सट्टा सञ्चालित विमानस्थलको क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताए ।
भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई मात्रै आगामी प्राथमिकतामा राख्नुपर्ने धारणा राखे ।
उनले नेपालको हवाई सेवा सन् १९४९ मा सुरु भएको उल्लेख गर्दै हालसम्म १०८ वटा दुर्घटनामा ९५९ जनाको ज्यान गइसकेको जानकारी दिए । ‘यी दुर्घटना रोक्न ऐन बनाउने हो, न कि अन्धाधुन्ध विमानस्थल थप्ने,‘उनले भने ।
भट्टराईले भूगोल, जनसंख्या र सडक सञ्जालको पहुँचका आधारमा आवश्यक विमानस्थलबारे छलफल गरेर मात्र नीति बनाइनु पर्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया